राप्रपामा चिन्ह विवाद, गाई कि हलो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र पार्टी एकता हुँदा देखि नै नसुल्झिएको निर्वाचन चिन्हको विवाद फेरी बल्झिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिन्ह विवाद फेरी बल्झिएको हो ।

पार्टी एकता हुँदा कमल थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र पशुपतीशमशेर राणा नेतृत्वको राप्रपाको ‘हलो’ कायम थियो । तर पार्टी एकता हुँदा भने ६ महिना भित्र चिन्ह तय गर्ने सहमती गरिएको थियो ।

राप्रपाद्वारा एकताको आधार पत्रलाई व्याख्या र विवादित विषय टुंगाउन ६ सदस्सीय कार्यदल समेत बनाइएको थियो । कार्यदलमा रहेका नेताहरु नै विषयको व्याख्यामा पुरानै गुट अनुसार पक्ष विपक्षमा उभिएपछि बाँकी विषयमा निणर्य गर्ने अधिकार तीन अध्यक्षलाई नै दिइएको छ ।

राप्रपा केन्द्रिय सदस्य जनक पाठकले कार्यदलले टुंगाउँन बाँकी विषयलाई अध्यक्ष त्रयले नै टुंगाउने गरी प्रतिवेदन बुझाइसकेको बताए । केन्द्रिय सदस्य पाठकले पार्टीको झण्डाको विषयमा भने सहमती जुटेको दाबी गरे ।

‘झण्डामा सहमती जुटी सकेको छ, झण्डा गाई अंकित हुनेछ, तर चिन्हमा अझै छलफल जारी छ, चिन्ह हलो राख्ने गरी निणर्य होला, आइतबारसम्म चिन्ह पनि टुंगो लाग्छ,’ पाठकले भने ।

केही दिन अघि राप्रपा नेता विक्रम पाण्डेको वालुवाटार स्थित निजी कार्यालय कालिका टावरमा बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्ने’bout छलफल भए पनि निश्कर्र्षमा नपुगेपछि बैठक टुंगाइएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार नेता पाण्डेले एकीकृत पार्टीको चिन्ह ‘हलो’ राखिनु पर्ने अडान लिएका थिए भने नेता राजेन्द्र लिङदेनले गाई राख्नुपर्ने अडान लिएका थिए ।

राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो नलग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुगेको छैन । जबकी यही भदौ मसान्तसम्म राप्रपाले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइसक्नु पर्ने छ । विवाद समाधानका लागि अध्यक्ष त्रय पटक पटक वार्तामा बसिसकेका छन । उनीहरु पछिल्लो पटक शुक्रबार वार्तामा बसेका थिए । त्यसअघि ९ भदौमा समेत उनीहरु बीच छलफल भएको थियो ।

राप्रपा नेपाल र राप्रपावीच पार्टी एकता हुनुअघि अध्यक्षत्रय थापा, राणा र डा. प्रकाशचन्द्र लोहनीले एकीकरणको आधारपत्रमा हस्ताक्षर गरेका थिए । सो आधारपत्रमा समेत निर्वाचन चिन्ह सहितका विषयलाई ६ महिनाभित्र टुंग्याउने भनिएको थियो ।

राप्रपाका अध्यक्षत्रयको बैठकले विवादीत विषयलाई मिलाउन भन्दै सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि ६ सदस्यीय सुझाव समिति बनाएका थिए ।

राप्रपा नेता मोहन श्रेष्ठले कुन नेताले निर्वाचन चिन्ह गाई र कुन नेताले हलो भन्ने भन्दा पनि अहिलेको मुख्य विषय पार्टीलाई कसरी, चलायमान, व्यवस्थित, संगठित र योजनाबद्ध बनाउँने भन्ने रहेको बताए ।

‘कुन नेताले निर्वाचन चिन्ह गाई र कुन नेताले हलो भन्ने भन्दा पनि अहिलेको मुख्य विषय पार्टीलाई कसरी, चलायमान, व्यवस्थित, संगठित र योजनाबद्ध बनाउँने भन्ने हो, निर्वाचन चिन्ह मात्रै मूल उद्देश्य होइन, हुनु हुँदैन,’ नेता श्रेष्ठले भने ।

राप्रपाद्धारा बनाइएको समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना थिए । उनीहरु मध्ये बोहोरा, तामाङ्ग, र लिङ्देन थापा पक्षका हुन भने पाण्डे, प्रधान र तिमिल्सिना राणा लोहनी समूहबाट समितिमा थिए ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान