गौर । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले शुरु गरेको आन्दोलनले विशाल रुप लिएको छ ।
प्रहरीको ज्यादती बढेको भन्दै बिहीबार हजारौंको संख्यामा सडकमा उत्रिएका स्थानीयले शुक्रबार पनि ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन । इलाका प्रहरी कार्यालय गरुडाको तत्कालीन नायब प्रहरी उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतो सहित दोषी प्रहरीलाई गिरफ्तार गर्न र रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई निलम्बन गरी कारवाही अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।
हत्या गरिएको निरन्जन राम र हिरासतमा मारिएका विजय रामलाई शहिद घोषणा गरी मृतक परिवारलाई क्षतिपूर्ति एवं निरन्जन रामको हत्याका वास्तविक हत्यारालाई कडा कार्यवाहीको प्रदर्शनकारीको माग छ ।
आर्थिक चलखेल गरेर प्रहरीले निर्दोष रहेका विजय रामलाई पक्राउ गरेर हिरासतमा यातना दिएर मारेको भन्दै डिएसपीलाई गिरफ्तार नगरे आन्दोलन थप चर्काउने उनीहरूले चेतावनी दिएका छन् ।
गत श्रावण ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाको निरन्जन रामको हत्या गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये एक विजय रामलाई पक्राउ गरेकै दिनदेखि निरन्तर यातना दिदाँ अस्वस्थ भएपछि बीरगंजस्थित नेशनल मेडिकल कलेज उपचारको लागि पठाइएको थियो । उपचाररत विजय रामको शरीरमा अत्यधिक चोटपटक लागेकोले मृत्यु भएको थियो ।