काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल अवस्थाका कारण छाला जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था आएको छ । कोभिड–१९ का कारण गत ११ चैतदेखि गरिएको लकडाउन र अहिले विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाले छाला जुत्ता उद्योग र व्यवसाय नै पलायन हुने अवस्था आएको हो । लकडाउनका कारण लामो समयदेखि यस्ता उद्योग व्यवसाय ठप्प छ ।
उद्योग व्यवसाय ठप्प हुँदा छाला जुत्ता उद्योगी व्यवसायीलाई व्यवसाय धान्न नै मुस्किल हुने व्यवसायीहरू बताउँछन् । छाला जुत्ता उद्योग व्यवसाय बन्दा हुँदा कृषिमा प्रत्यक्ष असर पर्ने व्यवसायीको भनाइ छ ।
छालाका जुत्ता उत्पादन गर्न कच्चा पदार्थ कृषि क्षेत्रबाट आउने हुँदा छाला जुत्ता व्यवसायमा असर हुँदा कृषि क्षेत्रमा समेत प्रत्यक्ष असर पर्ने व्यवसायीहरू बताउँछन् ।
छाला जुत्ता उत्पादन उद्योग व्यवसायबाट करिब ६० हजारले रोजगारी पाएका छन् । पछिल्लो समय लम्बिँदै गएको लकडाउनले उद्योगमा काम गर्ने ६० हजार व्यक्तिको रोजगारी जोखिममा परेको छ ।
नेपाल छाला जुत्ता उत्पादन संघका अनुसार संघमा दर्ता भएका सानाठूला उद्योग गरी नेपालभर एक सय वटा छाला जुत्ता उद्योग छन् । संघसँग नजोडिएर सञ्चालन हुने छाला जुत्ता उद्योग, कम्पनीहरू एक सयभन्दा धेरै छन् ।
छाला जुत्ता उत्पादन उद्योग व्यवसायबाट करिब ६० हजारले रोजगारी पाएका छन् । पछिल्लो समय लम्बिँदै गएको लकडाउनले उद्योगमा काम गर्ने ६० हजार व्यक्तिको रोजगारी जोखिममा परेको छ ।
संघका अनुसार कोभिड–१९ का कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाले ७५ प्रतिशत छाला जुत्ता उद्योग व्यवसायहरू गत ११ चैतदेखि ठप्प छन् ।
उद्योग व्यवसाय ठप्प हुँदा बैंकको लोन र घरभाडा तिर्न मुस्किल भएको संघका अध्यक्ष रामहरि तोलांगले बताए । उनले भने, ‘कोभिड–१९ को संक्रमण बढ्न थालेपछि उद्योगहरूमा काम गर्ने श्रमिकहरू संक्रमण हुने जोखिमले आ–आप्mनो घर गइसकेका छन् । कोभिड–१९ को संक्रमण तीव्र गतिमा बढ्दै गर्दा निषेधाज्ञाको अवधि अनिश्चित बनेको छ । छाला जुत्ता उद्योगहरूमा काम गर्ने ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक छन् ।’
कोभिड–१९ संक्रमणको जोखिम बढ्न थालेपछि स्वदेशी कामदारहरू पनि गाउँगाउँ गइसकेका छन् । उनीहरूलाई तत्काल काममा ल्याउनसमेत समस्या छ ।
तोलाङले भने, ‘यदि सरकारले निषेधाज्ञा कहिलेसम्म कायम हुने हो, निश्चित गरेको भए हामी त्यहीअनुसार उद्योग सञ्चालन गर्ने तयारीमा हुन्थ्यौं । यसअघि सरकारले लकडाउन खुकुलो बनाउँदा हामीमा केही आशा पलाएको थियो । तर, अब यो लकडाउन र निषेधाज्ञा कहिलेसम्म हुन्छ भन्ने यकिन नहुँदा समस्या परेको छ ।’
अहिले देशभर रहेका २५ प्रतिशत जुत्ता उद्योगले सरकारी निकायमा प्रयोग हुने जुत्ताहरू उत्पादन गर्छन् र विभिन्न संघसस्थाका लागि पनि उत्पादन गर्छन् ।
अध्यक्ष तोलाङले भने, ‘बजार नै ठप्प छ । व्यापार छैन । उत्पादन गरेर के गर्ने ? पहिले उत्पादन गरेका जुत्ताहरू नै स्टोरमा थन्किएका छन् । बजारबाट माग आएपछि उत्पादन गर्ने हो । कहीँ कतैबाट जुत्ता बनाउन माग आएको छैन । नेपालका मुख्य मुख्य सहरमा पछिल्लो समयमा छालाका जुत्ताको व्यवसाय राम्रो भइरहेको थियो । कोरोनाका कारण गरिएको लकडाउन र निषेधाज्ञाले सबै तहसनहस बनाएको छ ।’
विगतमा दसंै तिहार नजिकिँदा उद्योगी व्यवसायीलाई जुत्ता बनाउन र बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । अहिले सबै व्यापार ठप्प हुँदा बैंकको ऋण र घरभाडा तिर्न उद्योगी व्यवसायीलाई मुस्किल भएको छ ।
उनले भने, ‘बैंकले जम्मा २ प्रतिशत ब्याज छुट गरेका छन् । चैतदेखि ठप्प भएको व्यवसायलाई फेरि माथि उठाउन २ प्रतिशत ब्याजदर छुट गरेर केही हुनेवाला छैन । सरकारले लकडाउनभरि ब्याज मिनाहा गरेर पुनर्कर्जाको व्यवस्था गर्नुपर्छ ।
उनले पुनर्कर्जामा ब्याजदर ५-६ प्रतिशत छुट दिनुपर्ने बताए । उनले भने, ‘सरकारले स्वदेशी उद्योगहरूलाई पुनः राहत नदिने हो भने आयात वस्तुसँग प्रतिस्पर्धा गर्न सकिँदैन ।’