इटहरी । इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । बुधबार इटहरी उपमहानगरपालिकामा एकैदिन ५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । यो अहिलेसम्म इटहरीमा एकैदिन देखिएको सबैभन्दा धेरै संख्या हो । यसअघि इटहरीमा एकैपटक २१ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको भएपनि बुधबार एकैदिन ५८ जना कोरोना संक्रमित थपिएसँगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय नाघेको छ ।
इटहरीमा बुधबार थपिएका ५८ जनासहित कोरोना भाइरस संक्रमणको पुष्टि भएका २ सय १२ जना रहेको इटहरी अस्पतालले जनाएको छ । इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार भाद्र १३ र १४ गते गरिएको पीसीआर परीक्षणको बुधबार रिपोर्ट आएको थियो । संक्रमित हुनेहरुमा इटहरी १३ मा ११ पुरुष १ महिला, इटहरी ६ मा ५ पुरुष, २ महिला, इटहरी ११ मा ५ पुरुष, ५ नम्बर वडाका २ पुरुष, ३ महिला, १२ नम्वर वडाका ३ पुरुष, १० नम्बर वडाका २ पुरुष, १६ नम्बर वडाका १ पुरुष १ महिला, वडा नम्वर १, ७ र ८ का एक–एक जना पुरुष, ईलाका प्रहरी कार्यालय इटहरी र शशस्त्र प्रहरी बल इटहरीका एक–एक पुरुष रहेका छन् ।
यस्तै, इटहरीको टेक्सटाइल उद्योगमा कार्यरत रहेका तर घर अर्कै ठाउँ भएकामा कोरोना संक्रमण भएकोछ । दुहवीका ४ जना, गढीका ३ जना, विराटनगरका २ जना, राजविराजका २ जना, बुढीगंगाका ३ जना, रामधुनी, गछिया र जहदाका एक–एक जना रहेको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले जानकारी दिए । उनका अनुसार बुधबार पोजेटिभ देखिएका ५८ जना मध्ये प्रगति टेक्सटाइल उद्योगका ३८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म इटहरीमा ६० जना संक्रमित निको भएको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा बिहीबारबाट केही खुकुलो हुने भएको छ । बिहीबार विहान १० बजेसम्म जिल्लाका सबै ठाउँमा दूरी कायम गर्दै पसल, बजार खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनका अनुसार फिल्म हल, शैलुन र होटल बाहेकका अन्य स्थानमा भीँडभाड नगरी बजार पसल खोल्ने निर्णय गरिएको छ । बजार पसल खोल्दा स्वास्थ्य सामाग्री अपनाएर खोल्न अपिल गरेको छ ।