लन्डन । पाहुना टोली पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० मा घरेलु टोली इंग्ल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै तीन टेस्टको शृंखलालाई बराबरीमा सकाएको छ । पाकिस्तानले इंग्ल्यान्डमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै तीन टी– २० सिरिज १–१ को बराबरीमा सकिएको छ । यसअघि पहिलो खेल वर्षाको कारण नतिजाविहिन हुँदा दोस्रो खेलमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।
जितका लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाउन सक्यो । इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले सर्वाधिक ६१ रनको योगदान दिए पनि हार टार्न सकेनन् । अन्तिम विकेटका रूपमा १९औं ओभरको पाँचांै बलमा बहाव रियाजले कट एन्ड बोल्ड आउट भएपछि पाकिस्तान विजयी हुन सफल भएको थियो । ओपनर जोनी बेयरस्टो शाहिन अफ्रिदीबाट शून्यमा बोल्ड आउट भए । डेविड मलान ७ रनमा आउट भए । कप्तान ओइन मोर्गन १० रनमा रनआउट भएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । ओपनर टम ब्यान्टन ४६ रनमा एलबीडब्लूआउट भए । साम विलिंग्स २६ र लुइस ग्रेगरी १२ रनमा आउट भएको थियो । पकिस्तानका शाहिन अफ्रिदीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । बहाव रियाजले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । हरिस रउफ र इमाद वासिमले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९० रनको विशाल योगफल तयार पारेको थियो । पाकिस्तानका मोहम्मद हफिजले ५२ बलमा ४ चौका र ६ छक्कासहित अविजित ८६ रनको अर्धशतकीय इनिङ्स खेले । हफिजले दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरेका हुन् । फखर जमान १ रनमा बोल्ड आउट भए । कप्तान बाबर आजम २१ रनमा बोेल्ड आउट भए । त्यसपछि क्रिजमा आएका हैदर अलीले कीर्तिमानी अर्धशतक प्रहार गरे ।
पाकिस्तानको सियिनर टोलीबानट डेब्यु खेल खेलेका युवा ब्याट्सम्यान हैदरले ३३ बलमा ५ चौका र २ छक्कासहित ५४ रनको योगदान दिए । उनी पाकिस्तानबाट टी–२० डेब्युमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । हैदर र हफिजले तेस्रो विकेटका लागि १ सय रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । शादब खान ११ बलमा २ चौका सहित १५ रनमा आउट भए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट तथा मोइन अली र टम करनले समान १–१ विकेट लिए । पाकिस्तानका मोहम्मद हफिज प्लेयर अफ द सिरिज र म्यान अफ द म्याच दुवै चुनिए ।
अब इंग्ल्यान्डले अस्ट्रेलियासँग तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । पाकिस्तानको भने तत्काल कुनै अन्तर्राष्ट्रिय खेल छैन ।






