चितवन । एम्बुलेन्सको ओहोरदोहोर बाक्लिएको छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर बेपत्ता भएकाहरू नारायणी नदी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघ परिसरमा निर्माण गरिएको अस्थायी ‘चिस्यान कक्ष’मा राखिएको छ ।
चिस्यान कक्षमा राखिएका शवको अनुहार बाहिरपट्टि राखिएको डिस्प्लेमा देखाइएको छ । आफन्त हुन् कि होइनन् भनेर पहिचान गर्न सयौँ मानिस त्यहाँ पुगेका छन् । कसैको आँखामा आशा छ, कसैको आँखामा आँसु ।
शुक्रबार दिउँसो चितवनका राजेन्द्र खनाल क्षेत्री पनि त्यही भीडमा थिए । उनको हातमा मोबाइल थियो । मोबाइलको स्क्रिनमा मुस्कुराइरहेको एउटा अनुहार थियो । त्यो उनकी बहिनी सुजाता कौडेलको तस्वीर थियो । तर, सुजाता त्यहाँ थिइनन् । बाढीमा परेर बुधबार बिहानदेखि उनी बेपत्ता छिन् ।
रक्षाबन्धनमा दाजु–बहिनीको मिलन र खुसीको माहोल हुनुपर्ने दिन राजेन्द्र भने बेपत्ता बहिनीको खोजीमा शवगृह धाइरहेका छन् । ‘हामी दुई भाइको एउटै मात्र बहिनी हो । आज ऊ हामीसँग सम्पर्कमा छैन,’ राजेन्द्रले भने ।
सुजाताको घर गोरखाको पालुङटार हो । उनी गोसाइँकुण्डको धार्मिक यात्रामा निस्किएकी थिइन् । उनीसहित ४३ जना सवार बस बाढीपछि बेपत्ता भएको छ । बाढी आएको दिन बिहान ६ बजे सुजाताले परिवारसँग कुरा गरेकी थिइन् । त्यसपछि उनको मोबाइल मौन छ ।
घटना’bout जानकारी पाएदेखि उनका बुबाआमा र परिवारका सदस्य भावविह्वल छन् । घरमा कसैलाई निद्रा परेको छैन ।
‘बुबाआमा सुत्नुभएको छैन । सबै रुँदै बसेका छन्,’ राजेन्द्रले भने, ‘म जेठो छोरा हुँ,रात लामो र कष्टकर भएको हुनाले म आफैं सबैलाई सम्झाउँदै बसेको छु ।’

सुजाताका श्रीमान्, एक छोरा र अष्ट्रेलियामा रहेकी छोरी पनि यतिबेला गहिरो पीडामा छन् ।
शव पहिचान गर्न पुगेको भीडमा भेटिइन्, चितवन पर्साकी कविता बानियाँ । उनका १९ वर्षीय भाइ राजन कार्की तीन दिनदेखि बेपत्ता छन् ।
राजन काठमाडौंमा थिए । रसुवाको टिमुरे भन्सार नाकामा गाडी लिएर यात्रु लिन उनी त्यहाँ पुगेका थिए । घटनाको अघिल्लो रात साढे १० बजे उनले दाइसँग फोनमा कुरा गरेका थिए । ‘हामी नाका आइपुग्यौं, भोलि मान्छे लिएर काठमाडौं फर्कन्छौँ,’ राजनले भनेका थिए । त्यसपछि उनको आवाज परिवारले सुन्न पाएको छैन ।
राजनसँगै काठमाडौंँबाट गएका पाँच जना तथा दोलखाका २५–३० जना यात्रु पनि सम्पर्कविहीन छन् । बाढी गएको दिन बिहानैदेखि उनीहरूसँगको सम्पर्क टुटेको हो ।
‘मलाई त भाइ त्यहाँ गएको पनि थाहा थिएन । बाढी गएको दिन राति साढे ७ बजेतिर बल्ल भाइ सम्पर्कमै छैन भन्ने खबर पाएँ,’ कविताले भनिन् । शवगृहको डिस्प्लेमा भाइको अनुहार अझै देखिएको छैन । त्यसैले कविताको मनमा आशा बाँकी छ ।
‘मलाई अझै पनि आशा छ कि मेरो भाइ त्यस्तो बाढीमा परेको छैन होला । ऊ कतै पाखा लागेर सुरक्षित बसेको होला,’ उनले भनिन्, ‘यत्तिका दिनसम्म सम्पर्क नहुँदा कता–कता निराश पनि छु ।’ राजनको स्थायी घर दोलखाको मेलुङ गाउँपालिका–५ हो ।
चितवनको अस्थायी पहिचान केन्द्रमा भेटिएका राजेन्द्र र कविता प्रतिनिधि पात्र मात्रै हुन् । त्यहाँ आउने हरेक व्यक्तिको आँखामा आफ्ना मान्छे गुमाउनुको असह्य पीडा देखिन्छ ।
रक्षाबन्धनमा दाजु–बहिनीबीचको आत्मीयता र खुसी बाँडिनुपर्ने थियो । तर, विनाशकारी बाढीले कैयौँ परिवारको त्यो खुसी खोसेको छ ।
बाढीले भौतिक संरचना मात्रै बगाएको छैन, कैयौँ परिवारको भविष्यसमेत अँध्यारो बनाएको छ । चाडपर्वको समय सुरु हुँदै गर्दा कोही घरबारविहीन भएका छन्, कोही प्रियजनको खोजीमा भौँतारिरहेका छन् ।
कैयौँ परिवारका लागि यसपटकको रक्षाबन्धन मोबाइलमा सुरक्षित एउटा तस्वीर र शवगृहमा गरिने अन्तहीन पर्खाइमा सीमित भएको छ ।
रसुवा बाढीमा बेपत्ता भएकाहरूका शव नारायणी नदी हुँदै भारतसम्म पुगेका छन् । चितवन क्षेत्रमा भेटिएका शव बिहीबारदेखि अस्थायी चिस्यान केन्द्रमा संकलन गर्न थालिएको हो । पहिचान भएका शव परिवारको जिम्मा लगाइएको छ ।
सम्बन्धित समाचार
२४ घण्टामा विपदवाट १३ जनाको मृत्यु, ५ बेपत्ता
घाइतेको उद्धार गरी उपचार जारी
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै
बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
कांग्रेस जोगाउन ‘विधान निलम्बन’ प्रस्ताव
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत






