सिरहा । कोरोना भाइरस संक्रमणबाट सिरहाको मिर्चैया नगरपालिका–५ बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको आइतबार राती करिब ११ बजे प्रदेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको डा. जामुनप्रसाद सिंहले जानकारी दिनु भयो ।
आइतबार बिहान ४ बजे अस्पतालमा भर्ना भएका उनको अक्सिजन लेभल ५० प्रतिशतभन्दा कम थियो डा.सिंहले भने, भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको केही घण्टामै मृत्यु भयो। उनले भने,अस्पताल आउँदै उनी सिकिस्त थिए।
मधुमेह र उच्च रक्तचापका विरामी उनलाई चार पाँच दिनदेखि ज्वरो समेत आइरहेको थियो। पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए।
कर्जन्हा नगरपालिकामा पिसिआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयाको उत्तरपट्टीको घरमै उनले ग्यासलगायतका व्यपार संचालन गर्दै आएका थिए। उनको शव व्यवस्थापनका लागि तयारी भैरहेको मिर्चैयाका नगर प्रमुख श्रवण यादवले जानकारी दिनु भयो ।
यससंगै मिर्चैयामा तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भैसकेको छ भने सिरहामा कोरोनाबाट मृतकको संख्या ९ पुगेको हो ।






