पर्वत । डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लब समूह ‘ए’ को विजेता बन्दै चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार समूह ‘ए’ को खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै एपीएफ समूह विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
एपीएफसँग पराजित भएको आर्मी पनि अन्तिम चारमा पुग्न सफल भयो । यो समूहमा दुई टोली मात्रै रहेका कारण समूह विभाजनपछि नै एपीएफ र आर्मी सेमिफाइनलमा पुग्न सफल भएको थियो । पर्वतस्थित जलजला गाउँपालिका–३ मा बुधबार भएको उद्घाटन खेलमा एपीएफ पहिलो सेटमा २१–२५ ले पछि परेको थियो । दोस्रो सेट एपीएफले २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट एपीएफले पुनः १९–२५ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट एपीएफले २५–९ र १५–१० ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । बुधबारै भएको अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गरेको छ ।
पुलिससँग पराजित डायमन्डले आयोजक दिदीबहिनीमाथि २५–३, २५–२ र २५–६ को सहज जित निकाल्दै सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार पुलिसले आयोजकलाई पराजित गरेको खण्डमा पुलिस समूह विजेता तथा डायमन्ड समूह ‘बी’ को उपविजेता बन्नेछ । बिहीबार लिगको अन्तिम खेलसँगै दुई सेमिफाइनल खेल हुनेछ ।
त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्राप्त गर्नेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो ।