महामारीमा उपभोक्ता ठग्ने पर्साका ९ व्यापारिक फर्मलाई कार्वाही

वीरगन्ज । कोरोना महामारीको बिषम परिस्थितिमा उपभोक्ता ठग्ने पर्साका ९ वटा व्यापारिक फर्म कार्वाहीमा परेका छन् । ती व्यापारिक फर्मलाई ५ हजारदेखि ५० हजारसम्म नगद जरिवाना गर्दै कार्वाही गरिएको हो ।

कोरोना संक्रमणको महामारीले जीवन र मरणको दोसाधमा रहेका मानिसलाई अखाद्य पदार्थ बिक्री गर्ने देखि अप्रत्यासित मूल्य बढाएर बिक्री गर्ने व्यापारिक फर्महरु परेको अनुगमन टोलीले जनाएको छ । खाद्यान्नमा बढी मुल्य लिने, मिति सकिएका खाद्यान्न सामग्री विक्री गर्ने अनुगमन टोलीलाई खरिद बिक्री बिल समेत नदेखाउने व्यापारिक फर्मलाई कार्वाही गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए । उनीहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम जरिवाना गरी कार्वाही गरिएको उनको भनाइ छ । आइन्दा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने र बिल विजक दुरुस्त राख्न पनि निर्देशन दिईएको प्रशासकीय अधिकृत श्रीवास्तवले राजधानी सँग बताए ।

पसलमा मुल्य सूची छैन

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा कालोबजारी गरिरहेको पाइएपछि आइतबार र सोमबार दुई दिनमा मात्र विभिन्न ९ वटा व्यापारिक फर्मलाई १ लाख ८० हजार जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा नारायण आचार्यले बताए ।

खास गरी बजारको रानीघाट, पानगल्ली, राधेमाई र विन्दवासिनिमा रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरिएको थियो । त्यहाँ न मुल्य सूची नै राखिएको पाइयो न त खरिद बिल उपलब्ध गराउन सके । यति मात्र नभई म्याद गुज्रेका समानहरु संचित गरी बिक्री वितरण पनि गरेको पाइएपछि कार्वाही गर्नुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालयबाट गएका अर्का कर्मचारी ललन पण्डितले भने ।

कुन कुन व्यापारिक फर्म परे कार्वाहीमा

कार्वाहीमा पर्ने व्यापारी फर्महरुमा सबैभन्दा बढि जरिवाना पानगल्लीमा रहेको सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाई ५० हजार रुपैयाँ दण्डित गरिएको छ । त्यसै गरी पानगल्लीकै अर्को खाद्यान्न स्टोर न्यू संतोष जेनरल स्टोरलाई २० हजार, जय पान पसल सेन्टरलाई पनि २० हजार र रानीघाटमा रहेको न्यू हरिओम किराना पसललाई पनि २० हजार रुपैयाँ नै जरिवाना गरिएको बाणिज्य कार्यालय पर्साले जनाएको छ । यी सबैलाई आइतबार कार्वाही गरिएको हो ।

त्यसै गरी सोमबार पनि वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासीनीको मनिष गल्ला भण्डार एण्ड ट्रेड सप्लायर्सलाई २० हजार, बिन्दवासीनीकै शशी किराना स्टोरलाई २० हजार, सन्दिप किराना तथा गल्ला भण्डार पनि २० हजार र वीरगन्ज १३ राधेमाईको आसिका जनरल स्टोरलाई ५ हजार र सोही ठाउँको चन्दन ट्रेड ईन्टरनेसनललाई पनि ५ हजार नै जरिवाना स्वरुप दण्डित गरिएको अनुगमन टोलीले जनाएको छ । यी व्यापारिक फर्मलाई भने सोमबार दण्डित गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती