काठमाडौं । अभिनेता राजेश हमालले शनिबार काठमाडौंमा एक समारोहबीच विभिन्न प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् । उनले १ सय १३ जना प्राविधिकलाई जनही ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेका हुन् ।
नेपालमा कोरोना संक्रमणका कारण विगत ६ महिनादेखि चलचित्रको छायांकन हुन सकेको छैन । यस्तो अवस्थामा कतिपय प्राविधिकलाई हातमुख जोर्न गाह्रो परिरहेको छ ।
सबै प्राविधिकलाई आफ्नो हातबाटै आर्थिक सहयोग हस्तान्तरण गर्दै सो कार्यक्रममा अभिनेता हमालले भने, ‘चलचित्र निर्माणमा क्यामेरापछाडि बस्ने प्राविधिकको महत्वपूर्ण हात हुन्छ । तर, अरूको तुलनामा उहाँहरूको पारिश्रमिक निकै कम हुने भएकाले प्राविधिकको अबस्था अहिले निकै जटिल छ ।’ सोही कारण आफूले प्रत्यक्ष रूपमा आर्थिक सहयोग नै प्रदान गरेको पनि उनले बताए ।
अभिनेता राजेश हमालले प्राविधिकलाई सहयोग गर्ने घोषणा गत महिना नै गरेका थिए । तर, सोही समयमा निषेधाज्ञा जारी भएपछि त्यतिबेला सहयोग गर्न नसकेको उनले बताएका छन् । चलचित्र उद्योग सञ्चालन हुन कतिसमय लाग्ने भन्ने अझै निश्चित नभएको बताउँदै हमालले कार्यक्रममा भने, ‘अहिलेको भन्दा अझ खराब अवस्था चलचित्रकर्मीले आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । त्यसैले अहिलेको अवस्थामा सबै सिनेकर्मी समस्यामा छन् ।’ आफू पनि समस्यामै रहेको र अमेरिकामा आफूले कार्यक्रम सञ्चालन गरेबापत प्राप्त केही रकम र साथीहरूबाट प्राप्त रकमबाट यो सहयोग गरेको पनि अभिनेता हमालले बताए ।
नेपाली चलचित्रको बजार कहिलेबाट खुल्ने भन्ने अझै अनुमान गर्न गाह्रो भएको हमालले बताएका छन् । यस्तो अवस्थामा नेपाली चलचित्रमा काम गर्ने सिने प्राविधिक मजदुरको अवस्था झनै नाजुक हुँदै गएकाले अरूले पनि उनीहरूका लागि सहयोग गर्नुपर्ने अपिल अभिनेता हमालले सो क्रममा गरे ।
यसैबीच अभिनेता हमालले आफू अब चलचित्र अभिनयमा फर्कने बताएका छन्, ‘यतिबेला मलाई फिल्म गर्नका लागि थुप्रै स्क्रिप्ट आइरहेका छन र ती स्क्रिप्ट पढिरहेको छु । तीमध्ये राम्रो स्क्रिप्टमा अब चाँडै नै चलचित्र सुरु गर्नेछु ।’
यस्तै, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले केही महिनाअघि पनि विभिन्न कलाकारले प्राविधिकलाई सहयोग गरेको स्मरण गराए । यस्तो संकटको घडीमा पनि अभिनेता हमालले प्राविधिकहरूलाई सहयोग गरेर एउटा नायकका रूपमा आफूलाई फेरि प्रस्तुत गरेको उनले बताए ।






