बाजुरा । हिमाली गाउँपालिका वडा न ५ मा रहेको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली, उनकै ३ छोरी र १ छोरा रहेका छन ।
शुक्रबार दिउँसो छोराछोरी समेत लिएर खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन् ।
बेपत्ता हुनेमा ३० बर्षीया सत्ता नेपाली उनकी ५ वर्षीया छोरी आरती नेपाली, ४ वर्षीया छोरी सन्तोसी नेपाली २ वर्षीया छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिएका छन् ।
उनीहरु के कति कारणले बेपत्ता भएका हुन् भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाका ’boutमा थप बुझ्नको लागि प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाको नेतृत्वमा प्रहरी टोली सदरमुकाम मार्तडीबाट घटना स्थलतर्फ प्रस्थान गर्न लागेको छ ।
सोही खोलामा करिव २ महिना अगाडी पनि १ बालिका बगेर बेपत्ता भएकी थिइन् । सो खोलामा हरेक बर्ष ५/६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन । बेपत्ता भएका हरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म कोही पनि नभेट्टीएको पीलुचौर प्रहरी चौकीले बताएको छ ।






