सिन्धुलीगढी युद्ध सचित्र गुटुङटुङ

दीपक ठकुरी

गायक कृष्णविक्रम थापाले गीतमार्फत सिन्धुलीगढीको प्राकृतिक छटाको बखान गरे । थापाको ‘सिन्धुलीगढी घुमेर हेर्दा’ गीतसँगै ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी पुनः चर्चामा आयो । गीत र सिन्धुलीगढी जनजिब्रोमा झुन्डियो–

सिन्धुलीगढी घुमेर हेर्दा
सुन्तलीमाई
कतिमा राम्रो दरबार
मा-यो नि मायाले मा-यो…

अब सिन्धुलीगढी चित्रमा पनि समेटिएको छ । सिन्धुलीगढीको ऐतिहासिकता र प्राकृतिक सौन्दर्यलाई समेटिएको चित्रकथा ‘सिन्धुलीगढी’ सार्वजनिक भएको छ । चित्रकथामा नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले गरेका कूटनीतिक तथा सैन्य चातुर्यको
वर्णनसमेत पाइन्छन् ।

ऐतिहासिक घटनाको संक्षिप्त सिंहावलोकन
‘सिन्धुलीगढी’ चित्रकथामा गोरखा राज्यको परिचयबाट कथानक सुरु भएको छ । पृथ्वीनारायण शाहले भक्तपुरका युवराज वीरनरसिंह मल्लसँग मीत लगाएर काठमाडौं उपत्यकाको अवस्था बुझ्न थालेको सन्दर्भसमेत समेटिएको छ । बाबु नरभूपाल शाहको मृत्युपछि गोरखाका राजा बनेका पृथ्वीनारायण शाहले राज्य विस्तारको सपना देखेसँगै कथानकले गति लिएको छ । राज्य विस्तारकै क्रममा पृथ्वीनारायण शाहले नुवाकोट जितेको प्रसंग समेटिएको छ ।

त्यस्तै, सिन्धुलीगढी युद्धमा अंग्रेज सेनालाई पराजित गरेपछि काठमाडौं उपत्यकामाथि जित हासिल गर्न पृथ्वीनारायण शाहलाई निकै सजिलो भएको थियो । र उनले उपत्यकाका राज्य जितेर नेपालको एकीकरण अभियानमा निरन्तर अगाडि बढाएको सन्दर्भ चित्रकथामा समेटिएको छ ।

सिन्धुलीगढी–युद्ध
पाल्पाका राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनको पालामा सिन्धुलीगढी तयार भएको थियो । उनका जनाति माणिक सेनको पालमा सिन्धुलीगढी झनै मजबुत बनाइएको थियो । सिन्धुलीगढीमा तीन वटा गढी छन् । पृथ्वीनारायण शाह काठमाडौं उपत्यका जित्ने उपयुक्त समयको पर्खामा थिए । उनले जयप्रकाश मल्लको सहयोगका लागि इस्टइन्डिया कम्पनीको फौज काठमाडौं आउँदै गरेको थाहा पाए । उनले वस्तुस्थितिको राम्रोसँग विश्लेषण गरेका थिए । अंग्रेज सेनालाई सिन्धुलीगढीबाट भगाउन नसके एकीकरण अभियान खतरामा पर्ने उनले बुझेका थिए । यसपछि उनले सिन्धुलीगढीको मर्मत गराए । काजी श्रीहर्ष पन्त, काजी वंशराज पाँडे, शिकारी सरदार वंश गुरुङ, खजान्ची वीरभद्र उपाध्यायको नेतृत्वमा गोरखाली फौज तयार गरे ।

चित्रकथा पढ्दै–हेर्दै गर्दा पाठक भ्रममा पर्छ । सोच्छ– कथा पढ्दैछु ? चित्र हेर्दै छु ? या फिल्म हेर्दै छु ? ऐतिहासिक घटनाक्रमसँग मिल्दाजुल्दा कलात्मक चित्रले ‘कृति’लाई चलचित्र जस्तो बनाइदिएको छ

गोरखाली फौज घरेलु हातहतियारसहित अंग्रेज सेनासँग लड्न तम्तयार भए । गोरखाली फौजले ढुंग्रेवास गाउँबाटै अंग्रेज सेनामाथि आक्रमण गरेर उनीहरूको सातो लिए । कप्तान किनलक नेतृत्वको कम्पनी सेना पौवागढी युद्धमा १५ असोज १८२४ मा पराजित भयो । अंग्रेज सेनातर्फ ठूलो संख्यामा मानवीय क्षति भएको थियो । जुन घटनालाई संक्षिप्त रूपमा चित्रकथामा समेटिएको छ ।

प्राकृतिक रूप मोहनी
सिन्धुलीगढी प्राकृतिक रूपमा निकै सुन्दर छ । जसका कारण पछिल्लो समय आन्तरिक पर्यटनको वृद्धि विकास भएको छ । चित्रकथामा सामरिक दृष्टिले अक्करमा रहेको सिन्धुलीगढीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । चारकुने ढुंगाबाट बनाइएको किल्लाहरू प्रस्टै देखिन्छन् ।

त्यस्तै, सिन्धुलीगढीमा रहेको ऐतिहासिक इनारको चित्र कोरिएको छ । लाग्छ– चित्र क्यामराले खिचिएको हो । सिन्धुलीगढीमा रहेको वास्तविक इनार (अहिले पानी सुकेको छ)को तस्बिर चित्रकथामा हुबहु जस्तो देखिन्छ । जसबाट पाठकले सिन्धुलीगढी नै गएर अवलोकन गर्दै गरेको अनुभूत गर्छन् । गोरखाली फौजले अंग्रेज सेनाको कठालो समातेको दृश्य झनै सुन्दर लाग्छ । युद्धका चित्रमा गोरखाली फौज निकै निडर देखिएका छन् । आधुनिक हातहतियारसहितका अंग्रेज सेनासँग घरेलु हतियार लिएर प्रतिकारमा उत्रिएका गोरखाली सैनिकको वीरता प्रंशसनीय देखिन्छ ।

युद्धकै क्रममा गोरखाली फौजले अंग्रेज सेनालाई खेदाएको दृश्य राखिएको छ । जुन दृश्यले तत्कालीन युद्धका विविध पक्ष’bout जानकारी दिएको छ । चित्रमा अंग्रेज सेना ओरालोतिर भाग्दै गरेको, बीच बाटोमै लडेको देख्न सकिन्छ भने गोरखाली फौजले उनीहरूमाथि निर्मम प्रहार गरेर देखिन्छ । ऐतिहासिक घटनालाई चित्रमा यसरी उनिएको छ, लाग्छ– सिन्धुलीगढी युद्धको ‘लाइभ भिडियो’ हेरिँदै छ । चित्रमा सिन्धुलीगढीको भौगोलिक अवस्थितिसमेत कलात्मक रूपमा उतारिएको छ, जुन वास्तविक भूगोलसँग निकै मेल खाएको देखिन्छ ।

कृतिको नाम ‘सिन्धुलीगढी’ भनिए पनि पृथ्वीनारायण शाहकालीन नेपाल एकीकरणका विविध घटना समेटिएको छ । चित्रकथा पढ्दै–हेर्दै गर्दा पाठक भ्रममा पर्छ । सोच्छ– कथा पढ्छु ? चित्र हेर्दै छु ? या फिल्म हेर्दै छु ? ऐतिहासिक घटनाक्रमसँग मिल्दाजुल्दा कलात्मक चित्रले ‘कृति’लाई चलचित्र जस्तो बनाइदिएको छ । जसका कारण यो कृति विद्यालय तहका विद्यार्थीका लागि ऐतिहासिक घटनाहरू बुझ्न निकै लाभदायक छ ।

ऐतिहासिक घटनालाई सरल भाषामा प्रस्तुत गरिएको छ, जसका कारण यो कृति साक्षरदेखि विद्वान्सम्मलाई उपयोगी छ । नेपाल एकीकरणको इतिहासमा निकै महत्त्वपूर्ण मानिएको सिन्धुलीगढीमा भएको गोरखाली–अंग्रेज सेनाबीचको युद्धको पृष्ठभूमि, सैन्य तयारी, कूटनीतिक चातुर्य बोध गर्न ‘सिन्धुलीगढी’ चित्रकथा निकै उपयोग छ ।

इतिहासविद् प्रा. दिनेशराज पन्त, प्रकाश खड्का दीपक श्रेष्ठ र सौरभ ढकाल समूहले पुस्तक सम्पादन गरेको छ भने सन्दर्भ चित्रमा कलाकार सुरेम देशारले कुची चलाएका छन् । समृद्ध सिन्धुली अभियानले थालेको पहल, सुशील ढकाल तथा प्रिजुन कोइरालाको ‘ले–आउट’ कृतिका लागि छुटाउन नहुने अर्को पक्ष बन्न पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 982 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी