काठमाडौं । प्रत्येक १ सय जनामा ७४ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । देशभर हालसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएकामा ६२ हजार ७ सय ४० संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा हालसम्म कुल संक्रमितमध्ये ७४ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोजयता २६ हजार २ सय ४३ जना संक्रमित भएकामा २१ हजार १४ जना संक्रमणमुक्त भएका छन् । गत आइतबार ८ सय ८५, सोमबार ७ सय ४२, मंगलबार ७ सय १३, बुधबार १ हजार ५७, बिहीबार ९ सय ६१, शुक्रबार ३ हजार ३ सय ७ र शनिबार २ हजार ४२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशभर शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन् । शनिबार एकै दिन आठ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ५ सय २८ पुगेको छ ।
७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सुनसरीमा २८ वर्षीया महिला, ललितपुरमा ८३ र ६८, सिन्धुपाल्चोकमा ४१, दोलखामा ६५ वर्षीय पुरुष, चितवनमा ७६ वर्षीया महिला र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।
यस्तै, काठमाडौं उपत्यकामा शनिबार १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ जना संक्रमित भेटिएका छन् । भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको छ । काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन् ।
यस्तै, देशभर हाल २ सय ४८ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । गत २४ घण्टामा भेटिएका २ हजार १ सय २० संक्रमितमध्ये २ सय ४८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय १७ जना आईसीयू र ३१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । बाग्मती प्रदेशमा सबैभन्दा धेरै १ सय १६ जना आईसीयू र २४ जना संक्रमित अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् ।
प्रदेश १ मा २२ जना आईसीयू र २ भेन्टिलेटरमा, प्रदेश २ मा १७ आईसीयू र १ जना भेन्टिलेटरमा छन् । गण्डकीमा ६ जना आईसीयूमा छन् । प्रदेश ५ मा ३७ जना आईसीयू र ४ जना भेन्टिलेटरमा छन् । कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित आईसीयूमा उपचाररत छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छैनन् ।
देशकै प्रमुख कार्यकारी बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापालगायतका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । चिकित्सकहरूले सकभर भौतिक दुरी कम गरे संक्रमणबाट टाढा रहन सकिने बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट टाढा रहन भौतिक दुरी कायम गर्नुपर्ने बताए । उनले भने, ‘सकभर भौतिक दुरीसहित प्रत्यक्ष भेटघाट गर्नुहुँदैन । आत्मानुशासन नै महत्वपूर्ण कुरा हो ।’






