इलाम र पाँचथरको साँधमा रहेकाे सुकेपोखरीकाे साैन्दर्य (फोटो फिचर)

इलाम । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्दछ । फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ । होम स्टेमा लोकल कुखुुरा, खसी, बोकाको मासुदेखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास, केराउलगायतका स्थानिय उत्पादनबाट बनेका खानाका बिभिन्न परिकारहरुको स्वाद मज्जाले लिन पाइन्छ ।

होमस्टेका नाममा सुविधा सम्पन्न होटल निर्माण भइरहेका छन् तर ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूमा पनि आकर्षण बढेको छ । महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा पाइन्छ । होमस्टेमा बस्ने पर्यटकले एकै परिवारमा जस्तै गरी बस्ने गर्दछन् ।

पछिल्लो समय इलाम र पाँचथरको सँगम स्थलमा पर्ने सुकेपोखरी पर्यटकको रोजाई बन्न थालेको छ । चिसो मौसम र स्थानीय परिकारको स्वाद आफ्नै रोजाईमा पाउन थालेपछि पर्यटकको रोजाई बन्न थालेको हो । यहाँ पुग्ने पर्यटकले लेकाली क्षेत्रको वातावरणमा रमाउनका साथै स्थानीय परिकारको आनन्द लिँदै ट्रेकिङको भरपुर मनोरञ्जन लिने भएकाले पर्यकको आकर्षणमा पर्ने गरेको सुकेपोखरी लुहाकिम पर्यटन विकास मञ्चका सचिव सुरेस वान्तावा बताउँछन् । उनी भन्छन्, ‘यस क्षेत्रमा जुन सुकै मौसममा पनि आउन सकिन्छ । पक्की कच्चि सडक पनि पैदलका लागि धेरै नभएको कारण पनि जुनसुकै मौसम पर्यटकका लागि राम्रो नै मानिन्छ ।’ कालो पत्रेसडकबाट एक घण्टाको यात्रा पछि होम स्टेमा आइपुग्ने भएको कारण पनि पर्यटक विचैमा अलपत्र नपर्ने वान्तावा बताउँछन् । सुकेपोखरी पुगेका पर्यटक पुनः त्यहि बाटो फर्कनु पनि पर्दैन ।

सुकेपोखरीमा बेलुकाको बास बस्ने होमस्टेको स्वाद चाख्ने र विहान त्यहाँबाट ट्रेकिङ गर्ने हो भने चार घण्टामा इलाम नगरपालिका एकको बागखोर सम्म निस्कन सकिन्छ । चार घण्टाको यात्रामा लेकाली क्षेत्रमा पाउने जडिबुटी, विभिन्न खालका वनस्पतीको अवलोकन गर्न सकिन्छ । त्यहाँ पर्यटको आकर्षणका लागि इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पाटेनाँगी, इनपा र देउमाई नगरपालिकाको सिमानामा रहेको कुहिभिर र ठूला ठूला खर्कको अवलोकनसँगै रमाउन सकिन्छ । त्यहाँ पुग्दा खर्कमा चरनका लागि गएको गाईको ताँतीका साथै मनमोहक दृश्य देख्न सकिन्छ । त्यहाँ पुग्ने जो कोही पर्यटक त्यहाँको दृश्यको लोभले दुई तीन पटकसम्म आउने गर्दछन् ।

यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि ट्रेकिङको लागि उत्कृष्ठ रहेको पर्यटन सरोकार समिति इलामको भनाई छ । सुकेपोखरी पुग्नको लागि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजार हुँदै पाँचथरको पौवा भञ्ज्याङसम्म कालोपत्रे सडकको यात्रा गर्नुपर्छ । पौवा भञ्ज्याङदेखि पाँच किलोमिटर कच्चि सडकको यात्रा पछि सुकेटार पुग्न सकिन्छ । पौवा भञ्ज्याङ बाटै ट्रेकिङ (पैदल) गर्ने हो भने एक घण्टाको यात्रामा सुकेपोखरी पुगिन्छ । सुकेपोखरीसम्म गाडीमा जाने र त्यहाबाट टे«किङ गर्न पनि सकिन्छ ।

कोरोना संक्रमणको त्रासका कारण पर्यटन क्षेत्रमा ठूलो असर पुगेको छ । लामो समयसम्मको बन्दाबन्दीका कारण थलिएको पर्यटन क्षेत्रमा चहल पहल देखिन थालेको छ । पर्यटन क्षेत्रको प्रवर्दन गर्नका लागि झापा र इलामका पर्यटन क्षेत्रमा कामगर्ने सरोकारवाला, होटल व्यवसायी र ट्राभलमा आवद्घ चालिस जनाको टोलीले दुई दिनको ट्रकिङ गरेको छ । पाँचथरको पौवा भञ्ज्याङबाट शुरु गरी इलाम नगरपालिका एकमा रहेको बागखोर सम्म यात्रा गरेको थियो । जसले त्यस क्षेत्रमा रहेका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 968 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एथलीटमा क्रिकेटर लोकेस बम