ललितपुर । नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ। सेनाले देशभर नै विविध कार्यक्रम गरी सेना दिवस मनाएको हो । जङ्गीअड्डा मातहत रहेका देशका विभिन्न स्थानमा रहेका पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना भएका छन् । नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी नेपाली सेना दिवस मनाएको छ ।
सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी थिइन् । सैनिक मन्चको सैनिक स्मारकमा पुष्पहार चढाई राष्ट्रपतिले श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी थिइन् । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइने शास्त्रीय मान्यता छ ।
भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । दिवसका अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । त्यस्तै सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्लेसमेत प्रस्तुत गरिएको थियो ।
यो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत भएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले प्रशंसनीय, उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । सैनिक वीरपूर्खाहरुको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको इतिहास छ ।
नेपाली सेना अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट प्रशंसा हुँदै आएको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि नेपालका ६५ सैनिकले जीवन बलिदान दिइसकेका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा पाँच हजार ९५ नेपाली शान्ति सैनिक परिचालित छन् । नेपाली सेनाको प्रधान सेनापति तथा सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका छन् ।
