काठमाडौं । कोरोना संक्रमण केही मत्थर भएपछि हल खोल्न आफूहरूले प्रेरित गर्ने र सो समय रिलिज भएका नेपाली फिल्मलाई विभिन्न सहुलियत प्रदान गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् । हल खोल्नका लागि आफूहरूलाई हल सञ्चालकबाट बारम्बार दबाब आएको पनि उनको कथन छ । अरू सबै व्यवसाय खुलेको बेला हल नखोल्दा फिल्म हल सञ्चालकहरू नकरात्मक हुँदै गएको पनि दाहालले बताएका छन् ।
बोर्ड अध्यक्ष दाहालका अनुसार हल सञ्चालनको अनुमति कुरेर अहिले सिनेमा हल मालिकहरू बसिरहेका छन् । नेपाल सरकारले हल खोल्ने अनुमति दिएसँगै आफूहरूले हल खुलेदेखि ६ महिनासम्म रिलिज हुने चलचित्रलाई विभिन्न सहुलियत दिने उनले बताएका छन् ।
यो अवधिमा रिलिज हुने चलचित्रको निश्चित संख्यामा पोस्टर बोर्डले प्रकाशन गरिदिनेछ । सिनेमा रिलिज भएबापत सम्बन्धित सरबारलाई बुझाउनुपर्ने रकम पनि बोर्डले नै तिरिदिने भएको छ । यसैगरी, चलचित्र प्रदर्शनका लागि लाग्ने सर्भर इनकोडिङ चार्ज पनि चलचित्र विकास बोर्डले व्यहोर्ने भएको छ ।
यसैगरी, चलचित्र प्रदर्शनका क्रममा विभिन्न राष्ट्रिय टेलिभिजनबाट प्रचारप्रसार गर्दा लाग्ने रकममा धेरैभन्दा धेरै छुट दिलाउने कार्य बोर्डले गर्ने पनि दयाराम दाहालले बताएका छन्, ‘यसरी अहिलेको अवस्थामा हामीले एउटा नेपाली चलचित्र रिलिज गर्दा ५ लाखदेखि ८ लाख रुपैयाँसम्मको सहुलियत प्रदान गर्दै छौं । सिनेमा हल खुलेर चलचित्र प्रदर्शन सुरु भएको ६ महिनासम्म हामीले यो सहुलियत प्रदान गर्नेछौं ।’
काठमाडौं उपत्यकाबाहेक कोरोना संक्रमण न्यून भएको स्थानबाट चलचित्र हल खोल्ने पहल चलचित्र विकास बोर्डले सुरु गरेको छ । संयुक्त राज्य अमेरिका, युरोपदेखि एसियाका विभिन्न देशमा सिनेमा हल सञ्चालनमा आएपछि नेपालमा पनि सिनेमा हल खोल्न आफूहरूले पहल गरिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।
यसै विषयमा उनले राजधानीसँग भने, ‘यहाँका हल सञ्चालकदेखि निर्माताहरूसँग बसेर हामीले एउटा कार्यविधि बनाएर सरकारलाई दिएका छौं । अमेरिका युरोपमा कोरोना संक्रमणको बेला कसरी सिनेमा हल सञ्चालन गरिएको छ भन्ने कुरा यो कार्यविधिमा उल्लेख गरिएको छ ।’
बोर्ड अध्यक्ष दाहालका अनुसार चलचित्रकर्मीहरूको मातहतमा चलचित्र विकास बोर्डले राखेको प्रस्तावलाई सरकारले सकरात्मक रूपमा लिएको छ । कोरोना संक्रमण न्यून भएका मुलुकका कतिपय सहरहरूमा बिस्तारै सिनेमा हल सञ्चालन गर्नुपर्छ भन्नेमा सम्बन्धित मन्त्री सकारात्मक देखिएको पनि दाहालले बताए ।
अहिलेको अवस्थामा सिनेमा हल खोलेर मात्र नहुने भएकाले खुलेका हलमा राम्रा चलचित्र प्रदर्शन गर्नका लागि बोर्डले पहल सुरु गरेको छ । गत वर्ष रिलिज हुन नसकेका कतिपय चलचित्रलाई अब हल खुलेपछि रिलिजको लागि बोर्डले विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।
बोर्डको यो कार्यलाई अहिले कतिपय निर्माताले सकारात्मक रूपमा लिएका छन् । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अहिलेको अवस्थामा लगानी सुरक्षित भएपछि मात्र निर्माताले फिल्म रिलिज गर्ने बताएका छन् । कोरोनाको अवस्था हेरेर बोर्डका यो नियम र सहुलियतलाई कसरी लिने भन्ने’bout हल खुलेपछि मात्र भन्न सकिने अधिकारीको भनाइ छ ।