जुम्ला । कोरोना कहरकाबीच जुम्लाका किसानलाई जुम्ली मार्सीधान भित्र्याउन भ्याइनभ्याइ छ । जीउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन सुरु गरिएको चन्दननाथ नगरपालिका वडा नम्वर ६ महत गाउँकी स्थानीय सत्यदेवी रोकायाले बताइन् । प्राय दशैको समयमा धान भित्र्याइन्थ्यो, तर यस वर्ष सबै काम सकाएर दशैमनाउने तयारीमा यहाँका स्थानीय जुटेका छन् ।
चैतबाट सुरु हुन्छ मार्सी धान खेती
जुम्ला अर्गानिक जिल्ला घोषणा भएयता जुम्ला घुम्न पुग्नेहरु यहाँको मार्सी चामल खरिद गरेर लिने गरेका छन्
बढी उचाईमा फल्ने र धेरै समय पछि पाक्ने हुँदा मार्सी चामलको स्वाद अरु भन्दा भिन्न हुने गरेको तातोपानी ७ सर्मीका हरि कुँवरको भनाई छ । मार्सी धानका लागि जुम्लाका किसानको निश्चित समय तालिका जस्तो छ । उनीहरू प्रत्येक वर्षको चैत १२ गते बीउ केलाउने र भिजाउने, १६ गते सुकाउने र २० गते बेर्नामा छर्ने चलन छ । त्यसपछि जेठ पहिलो साता बाट रोप्ने, असारमा पहिलो गोडाइ गर्ने र २० दिनपछि दोस्रो गोडमेल गर्ने प्रचलन छ । यो धान असोज मध्यम साता भित्र्याउने गरिन्छ ।
जुम्लामा दुई हजार नौ सय हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ । जसमा एक हजार तीन सय हेक्टर क्षेत्रमा मार्सी धान फल्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ । पुखौं देखि खेती गरिदै आएको मार्सी धानका चामलले पछिल्लो समय राम्रो मुल्य पाएको स्थानीय रोशन खड्काले जानकारी दिए ।
पछिल्लो समय मार्सीधानको उत्पादन घटे पनि बजारमा माग भने धेरै रहेको उनको भनाई छ । त्यसो त जुम्ला अर्गानिक जिल्ला घोषणा भएयता जुम्ला घुम्न पुग्नेहरु यहाँको मार्सी चामल खरिद गरेर लिने गरेका छन् । ‘जुम्लाको पहिचान धान बनेको छ, तर पछिल्लो समय विभिन्न रोगले यसको उतत्पादनमा गिरावट आएको छ ’ उनले भने । यसअघि मार्सी चामल राजा रजौटालाई पठाउने समेत गरिएको उनले बताए । बढी झर्ने हुँदा स्थानीय ले यसको विकल्पमा कृषि विकास कार्यालय ले सिफारिस गरेका चन्दननाथ १, चनदननाथ २ जस्ता धान खेती गर्न थालेको चनदननाथ ६ कि माया थापाले बताइन् ।
उत्पादन घट्दो
यसका साथै बर्सेनि बस्ती विस्तार हुँदै जाँदा खेत तथा कुलानाला मासिन थालेपछि उत्पादन घट्दै गएको उनको भनाई छ । मार्सीको खेती विस्तारै कम हुँदै गएको कृषि कार्यालय, जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । यो धानबाली विश्वको सर्वोच्च (दुई हजार आठ सय ५० मिटरको) उचाइमा फल्ने गरेको छ । विश्वको सबै भन्दा बढि उचाईमा धान खेति हुने भनेकै जिल्लाको पातारासि गाउँपालिका को छुमचौर जीउलो हो ।