जुम्लाका प्राय भेडा गोठालाहरु आफ्नो नाम लेख्न सक्छन् तर, उनीहरु मध्ये प्रायले स्कुलस्तरीय शिक्षा हाँसिल गरेका छैनन् । केही वर्ष स्कुल गएका उनीहरु जब मेलो धान्न सक्ने भए, घरका मान्छेलाई सघाउने हेतुले केही दिन भेडा गोठालो भए । भेडा गोठालोमा टक बस्दै गयो । स्कुल फर्किएनन्, भेडिगोठमै रमाए । अहिले भेडा गोठालोबाटै परिवार पालिरहेका छन् ।
जुम्लाको ग्रामिण भेगमा बढि भेडा पालन हुने हँुदा अझै पनि धेरै वालवालिका विद्यालयको पहुँच बाहिर छन् । भेडा गोठालाहरु हिउँदमा बेंसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । चाडपर्व, झरी, बादल, हिमपात भेडि गोठमै सकिन्छ । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुईसिले लेक सम्म उनिहरु भेडाबाख्रा चराउन लैजान्छन् ।
घुमन्ते जीवन विताउने भेडिगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठ बनाएर बस्छन्
घुमन्ते जीवन विताउने भेडिगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठ बनाएर बस्छन् । एक दुई महिनालाई पुग्ने खाद्यान्ह आफन्तले पु¥याइदिन्छन् । भेडाको दूध, मकैको आटो, ढिडो, जंगलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडि पाखि ओड्ने , ओछ्याउने गर्छन । राडिपाखिले जमिनको पानी जीउमा पर्न दिदैन । जसबाट रागन र नसा सम्बन्धि रोग लाग्न पाउदैन । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित भने हुँदैन् ।
भेडी गोठका इमान्दार सिपाही
भेडाको बथान अनि पाटन र जंगलको बास । चिसो छल्न बेसी झर्दा होस या गर्मी छल्न लेक ओसार्दा भेडाहरु चोरी हुने, हराउने र जंगली जनावरको आक्रमणमा पर्ने डर भेडापालकलाई हुने गर्दछ । तर जुम्लाका भेडापालक किसानलाई भने डर छैन । कारण, उनीहरुलाई गोठैपिच्छे भोटे कुकुरको पहरा हुन्छ । चिसो ठाउँ र भोटमा पाइने हुँदा भोटे कुकुर भनिएको हो । भेडी गोठको इमान्दार सिपाहीको रुपमा किसानहरुले भोटे कुकुरलाई साथमै राख्ने गरेका छन् । भेडालाई विभिन्न जंगली जनावर तथा अन्य आक्रमणबाट जोगाउन गोठै पिच्छे भोटे कुकुर पाल्ने गरेका छन् ।
यो भेटे कुकुर यति ज्याद्रो हुन्छ यसले बाघ, स्याल, चिल,नाउटुटो लखेट्छ र भेडालाई जोगाउँँछ । भोटे कुकुर बिना कुनै पनि भेडी गोठ सुरक्षित नहुने भेडी गाेठाला बताउछन् । एक जना भेडापालक किसानसँग ४ वटासम्म भोटे कुकुर हुन्छन् । यी कुकुरहरु भेडी गोठको वरिपरि पहरा दिएर बसेका हुन्छन् । भेडालाई बथानबाट बाहिर जान नदिन, बाहिरबाट हुन सक्ने आक्रमण र चोरी रोक्न उनीहरु चनाखो बनेर बसेका हुन्छन् । पहाडको कुना कन्दरामै सिमित भेडिगोठालाको समाचारले पछिल्लो समय सञ्चारमाध्यममा महत्वपूर्ण स्थान पाउन थालेको छ । हेरौं केही तस्विर







