जनकपुरधाम । प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश नम्बर २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ ।
आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले छठ पश्चात प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने जानकारी दिए ।
उनले भने,‘प्रदेश मन्त्रीपरिषदको बैठकमा प्रहरी भर्नासम्बन्धी प्रस्ताव पारित गरिएको छ । चाडपर्व समाप्त भएलगत्तै प्रहरी भर्नाका लागि आवेदन आह्वान गरिने छ ।’ मन्त्री यादवले प्रदेश २ सरकारले प्रहरी जवान, असई र प्रहरी निरीक्षक पदका लागि आवेदन आह्वान गर्ने बताए ।
मन्त्री यादवले आजको मन्त्रीपरिषद बैठकमा प्रहरी भर्ना सम्बन्धी ठाडो प्रस्ताव लगेको र छठ पर्व पश्चात प्रहरी भर्ना लिने प्रकृया सुरु हुने जानकारी दिए । साथै आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति समेत भएको छ ।
बैठकले प्रदेश विपत व्यवस्थापनसम्बन्धी प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ भने दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय समेत गरिएको मन्त्री यादवले जानकारी दिए । मन्त्रीपरिषद बैठकमा कर्मचारीको सरुवा तथा काज सम्बन्धी कार्यविधि २०७७ र प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय पनि गरिएको प्रवक्ता यादवले बताए ।






