लन्डन । इंग्लिस मिडफिल्डर एन्डर हेरेराले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अट्याकिङ मिडफिल्डर पल पोग्बासँग बालोन डी’ओर जित्ने सबै चिज रहेको बताएका छन् । पूर्वसहकर्मीको ’boutमा हेरेराले भविष्यमा पोग्बासँग बालोन डी’ओर जित्ने सबै क्षमता रहेको बताएका हुन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का ३१ वर्षै मिडफिल्डरले २०१९ मा युनाइटेड छाडेका थिए । ‘त्यहाँ उनी जस्तो अरू कोही छैन । एक÷एक जना बीच हुने प्रतिस्पर्धा होस् वा बक्सदेखि बक्समा बल लैजाने बिषय होस्,’ हेरेराले भने । ‘उनीसँग बालोन डी’ओर जित्नका लागि चाहिने सबै चिज छ । यदि उनको क्लबले मुख्य उपाधिका लागि प्रतिस्पर्धा गरेको खण्डमा,’ उनले थपे ।
२७ वर्षीया विश्वकप विजेता पोग्बाले यस सिजन सबै प्रतियोगितामा ४ खेलमा मात्र प्रतिस्पर्धा गरेका छन् । उनले लिग कपको चौथो चरणमा ब्राइटोनविरुद्ध प्राप्त ३–० को जितमा एक गोल गरेका थिए । हेरेराले युनाइटेडमा ५ वर्षको अन्तरमा चार उपाधि जितेका थिए । वर्तमान टोली आफूले खेल्ने समयभन्दा अझ बढी परिपक्व रहेको हेरेराको भनाइ छ । ‘त्यहाँ धेरै प्रतिभाहरू रहेका छन् । एकरूपको प्रर्दशन छ । ब्रुनो फर्नान्डेजको उपस्थितिमा उनीहरूले थप सुधार गरेका छन्,’ उनले भने ।
‘युनाइटेडले सुधार गरिरहेको छ । उनीहरूले सही खेलाडी छनोट गरेका छन् । मलाई लाग्दैन, उनीहरू पछाडि गइरहेका छन्,’ हेरेराले भने । सन् २०१९ को मार्चमा पीएसजीले युनाइटेडसँग च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको थियो । युवा खेलाडीबाट प्रेरित युनाइटेडले २–० ले पछि रहेको अवस्थालाई उल्ट्याउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । मार्कुस रासफोर्डले इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै अवे गोलका आधारमा युनाइटेडलाई अन्तिम ८ को यात्रा तय गराएका थिए ।






