बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी  प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।

 अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जानकारी दिए । उनका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले सात हजार धरौटी राख्नुपर्ने  र प्रतिदिन  दुई  हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाहरुले १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन  तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ । मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी  र  प्रतिदिन शुल्क सात हजार ५०० रुपैया तिर्नुपर्नेछ । यस्तै गम्भीर लक्षण भएका बिरामीले  ६० हजार धरौटी राखी दैनिक १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ । प्रतिष्ठानले पिसिआर परीक्षणका लागि  दुई हजार २०० रुपैयाँ शुल्क तोकेको छ ।

यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि  शुल्क निर्धारण गरेको हो । सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ । प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

३९६ जनाको स्वाब फिर्ता

शुल्क निर्धारण गरिएपछि धरान उपमहानगरपालिकाले बुधबार संकलन गरेको स्वाबको नमूना प्रतिष्ठानले फर्काएको छ ।

 स्वास्थ्य मन्त्रालयले निःशुल्क नलिनू भनेपछि उपमहानगरले सङ्कलन गरेको स्वाब परीक्षण नगरी फिर्ता गरेको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान