लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सीमित एभर्टन साउथ ह्याम्पटनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड र चे एडम्सले एक एक गोल गरे । घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जेम्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई २–० को जित दिलाए ।
डिफेन्डिङ च्याम्पियन लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–१ पराजित गर्यो । सेफिल्डले खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत् सेन्डर बेरर्गेले गोल गरेका थिए । तर लिभरपुलका लागि ४१ औं मिनेटमा रोबर्टो फेरमिनोले बराबरी गोल फर्काए । ६४ औं मिनेटमा डिगो जोटाले गरेको गोल निर्णायक बनेपछि खेल लिभरपुलले २–१ ले जित्यो ।
त्यस्तै अर्को खेलमा वेल्भस र न्यूक्यासले १–१ को बराबरी खेलेका थिए । दुवै टोलीले खेलको अन्त्यतिर गोल गरेका थिए । वेल्भसका लागि राहुल जिमिनजले खेलको ८० औं मिनेटमा गोल गरेका थिए भने न्यूक्यासलका लागि ज्याकोप मुरपेले ८९ औं मिनेटमा गोल फर्काएका थिए ।
यस्तै अर्को खेलमा आसर्नलले लगातार दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल लेस्टर सिटीसँग एक शुन्यले पराजित भयो । जितसँगै लेस्टर लिगको शिर्ष चारमा उक्लिएको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा लेस्टरको जितमा एकमात्र गोल जिमी भार्डीले गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८१ औं मिनेटमा उनले गोल गर्दै टिमलाई अग्रता दिलाए । यता घरेलु मैदानमा आर्सनलले पुरै खेलमा तीन वटा उत्कृष्ट मौका पाएका थियो । जसमा दुई पटक पिएरी अबामयाङ चुक्न पुगे । यो जितपछि लेस्टरले ६ खेलमा १२ अंक बनाएको छ । आर्सनलको भने नौ अंक छ । पछिल्ला पाँच खेलमा आर्सनलको यो दोस्रो हार हो ।
यतिमात्र होइन उसले प्रिमियर लिगमा लगातार दोस्रो हार ब्यहोरेको छ । उसले अघिल्लो खेलमा म्यानचेस्टर सिटीसँग एक शुन्यको हार ब्यहोरेको थियो ।






