बागलुङ । कोरोना संक्रमण रोकथामको लागि हरेक नागरिकलाई आफ्नो जिम्मेवारी बोध गराउन बागलुङमा ‘कोरोना महामारी, मेरो जिम्मेवारी’ विषयमा नागरिकलाई सपथ ग्रहण गराउन थालिएको छ ।
प्रत्येक नागरिक जिम्मेवारी भए कोरोना संकट टार्न सकिने निष्कर्षसहित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले सपथ ग्रहणको कार्यक्रम तयार गरेको हो । पहिलो चरणमा प्रमुख जिल्ला अधिकार सुरेश न्यौपानेसहित प्रशासन कार्यालयका कर्मचारीले सपथ लिएका छन् ।
स्वास्थ्य कार्यालय बागलुङले नागरिकको लागि ६ बुँद्दाको सपथ ग्रहण तयार गरेको थियो । सपथमा म कोरोना भाइरसबाट बच्छु, यदी आफुलाई लागि हालेमा अरुलाई सर्नबाट जोगाउँछु, म कोहीसँग भेट्दा मास्क लगाउँछु, जो कोहीबाट दुई मिटर भन्दा पर बस्छु र नजिक जानुपरे बढीमा १० मिनेटसम्म मात्र बस्छु, नयाँ चिज छुनासाथ साबुन पानीले हात मिचीमिची धुन्छु, ज्वरो आएमा, खोकी लागेमा, श्वास फेर्न गाह्रो भएमा, वास्ना र स्वाद थाहा नपाएमा झाडापखाला वान्त हुने, जिउ देख्ने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्छु’ भन्ने बुँद्दा समावेश गरिएको छ ।
कोरोना भाइरस रोगसँग जुध्न प्रत्येक व्यक्तिको योगदान महुने भएकाले रोगबाट बच्न सकिने उपायहरु अवलम्बन गर्न र हरेक नागरिकलाई आफ्नो जिम्मेवारी बोध गराउन कोरोना महामारी, मेरो जिम्मेवारी भन्ने मुल नाराका सपथ ग्रहण अभियान सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
बुधबार जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखलाई सपथ ग्रहण गरेका छन । उनीहरुले आ–आफ्नो कार्यालयका कर्मचारीलाई, स्थानीय तह स्तरमा स्थानीय तहका प्रमुखको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालयले तयार पारेको शपथ ग्रहण कार्यक्रम आ–आफ्नो निकाय, वडा, संघसंस्था, कार्यालय स्तरसम्म एक हप्तासम्म अभियान संचालन गर्ने प्रजिअ न्यौपानेको भनाई छ ।
‘सपथ ग्रहण अभियान जिम्मेवारी बोधको लागि गरेको सकरात्मक प्रयास हो’ उहाँले भन्नुभयो–‘सबै नागरिक सचेत, सजक र सर्तक भएमा लकडाउन तथा कारवाही गर्नु पर्दैन ।’ सरकारको एक प्रयासले मात्रा संकटमोचन गर्न कठिन हुने उनको भनाई छ ।