जापान र कोरियामा कोरोना त्रास

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरू त्रासमा बसिरहेका छन् । चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत महामारीका रूप लिन थालेपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन् । पछिल्लो तथ्यांकअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै, नेपालीको बाक्लो बसोबास रहेको जापानमा पनि १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरियामा रहेका नेपालीले आफूहरू सुरक्षित तवरले बसिरहेको राजधानीसँग बताए । कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थी बस्दै आएका छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । थेगु सहरमा तीन हजार बढी नेपाली बसोबास गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाका केही सार्वजनिक स्थान सुनसान बन्दै गएका छन् । त्यहाँको सरकारले सूचना प्रसारण गर्दै बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न र मिचेर हात धुन आह्वान गर्दै आएको छ ।

कोरियास्थित नेपाली दूतावासले आइतबार अत्यन्त जरुरी सूचना प्रकाशित गरी नेपाली कामदारलाई सुरक्षित रहन र स्वास्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ । कोरियामा हाल ४४ हजार नेपाली बसोबास छ । त्यसमध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरू रहेको बताइएको छ ।

नेपाल सरकारले भने कोरोना भाइरस संक्रमण क्षेत्रमा रहेका नेपालीलाई ल्याएर कहाँ राख्ने भन्ने तयारी गरेको छैन । अन्तरमन्त्रालय समन्वयको अभावका कारण पनि ती संक्रमण क्षेत्रमा रहेका नेपालीलाई नेपाल फर्काउन उचित तयारी थालिएको छैन भने क्वारेन्टाइनको समेत प्रभावकारी व्यवस्थापन गरिएको छैन ।

कोरियाको उल्सान सहरमा रहेका नारायण कँडेलले भने भीडभाडमा गएका छैनौं दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर ।

त्यहाँबाट नजिकै रहेको उल्सान सहरमा काम गर्ने नारायण कँडेल केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोना भाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुनजिकैको उल्सान सहरमा विभिन्न कम्पनी छन् । कामका लागि कोरिया पुगेका नेपालसहित विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ ।

तर, थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् । थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । थेगुनजिकैको छाङदोको छाङदो थेनाम अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।
भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । हाम्रा साथी कम्पनीबाट बाहिर निस्किएका छैन ।

सरकारले आपतकालीन घोषणा गरेको छ । उल्सान र थेगु सहरमा करिब आठ हजार नेपाली छौं । केही नेपाली उद्योगीहरू पनि छन् । सेनिटाइजर प्रयोग गरिरहेका छौं, मास्क लगाएर बसेका छौं । बाहिर एकदम कम निस्कन्छौं । मार्ट बन्द अवस्थामा छ । डाइरेक्ट सामान मगाउँछौं । काम गर्न गएका छैनौं । संक्रमण हुन नदिन स्प्रेहरू पनि छर्किरहेको छ । यहाँको सरकारले समेत भीडभाडमा नजान भनेकाले हामीले सुरक्षित तरिकाले बसिरहेका छौं । संक्रमण फैलिएपछि त नेपाल सरकारले पनि स्वदेश फर्किने वातावरण बनाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक