‘नायक बन्न आएकाको थिएँ, गायनमा पो हिट भएँ’

विक्रमजंग शाह नेपाली गायनमा स्थापित नाम हुन् । यतिबेला गायक नयाँ गीत खोला खाल्सी पलायो निगुरो…बाट चर्चामा छन् । दसैंताका रिलिज गरिएको यो गीत अहिले पनि त्यतिकै चर्चामा छ । पछिल्लो समय गायक शाहलाई यो गीतले निकै लोकप्रिय बनाएको छ । विक्रमजंग शाहको कला यात्रा गायनभन्दा पनि अभिनयबाट सुरु भएको हो । २०६० मा नेपाली टेलिभिजनबाट प्रसारण भएको टेली शृंखला समयको कथामा मुख्य नायकका रूपमा विक्रम थिए । तिनै विक्रम अभिनयसँगै गायनमा पनि स्थापित भए । उनको अभिनय, गायन, चलचित्र निर्मातासहित विविध विषयमा राजधानीका डब्बु क्षत्रीसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ :

तपाईं त नायक बन्नको लागि कला क्षेत्रमा आउनुभएको थियो । नायकभन्दा गायकमा चर्चा कमाउनुभयो । कारण ?
गायन पनि मेरो पहिलादेखिकै शोख हो । सोही क्रममा २०६१ मा नै मैले ‘भकुन्डेमा एउटा स्कुल छ’ भन्ने गीत मैले रेकर्ड गराएँ । मलाई त्यतिबेला टेली शृंखला समयका कथाभन्दा यो गीतले चर्चामा ल्यायो । चर्चासँगै विवादमा पनि ल्यायो ।
कस्तो विवाद थियो त्यो ?
त्यो गीतमा ‘मिसलाई म्वाइँ खाँदा त गालै सुन्निएछ’ शब्द थियो । त्यो शब्द निकै विवादसँगै चर्चामा रह्यो । त्यही कुराले गायकको रूपमा अघि बढ्ने प्रेरणा मिल्यो ।

तपार्इं सबै प्रकारका गीत गाउनुहुन्छ । तर पनि काँठे भाकामा बढी आउनुको कारण ?
एक त म आफैं काभ्रेको भकुन्डे (रोसी) निवासी परें । त्यो क्षेत्रमा काँठे भाका बढी गाइन्छ । आफ्नो क्षेत्रका भाकालाई देशव्यापी बनाउन पनि हामीले काठेलाई बढी महŒव दिएका छौं । बैनीले गाँसेको फूलमाला, ब्युटीपार्लर गैछन्, अहिलेको खोलाखाल्सीसहित थुप्रै गीत छन् । मूलतः मभन्दा पनि अग्रज दाइहरूले काँठे भाकालाई देशव्यापी लोकप्रिय बनाएपछि मैले त्यसमा केही इँटा थप्ने काम मात्र गरेको हुँ ।

अहिले निकै चर्चामा रहेको तपाईंको खोलाखाल्सी कस्तो गीत हो । यो गीत कसरी सिर्जना भयो ?
लकडाउनको बेलामा मेरो संयोजकत्वमा राष्ट्रिय संगीतकर्मी संघबाट सात सदस्यीय टोली मिलेर राहत बाँढ्ने कार्य गरेका थियौं । यसै क्रममा गायक अमृत खाती र मैले एउटै टोली भएर राहत बाँढ्दै हिडेका थियौं । सोही क्रममा अमृतले भाका सुनाउनुभयो । केही भाकामध्ये मलाई खोलाखाल्सी मन प¥यो र गत दसैंको अवसरमा यसलाई बजारमा ल्याएको हुँ । यो गीत अहिले टिकटकदेखि विभिन्न सामाजिक सञ्जालका माध्यममा लोकप्रिय भएको देख्दा खुसी लागेको छ । मेरो गायन करिअरलाई यो गीतले अझ माथि उठाएको छ ।

अरू नयाँ गीतको तयारी कस्तो हुँदै छ ?
अहिले नयाँ गीत हुन्छ कि लफडा… तयार गरेको छु । जसमा मेरो र अञ्जु पन्तको स्वर रहेको छ । यो लोक आधुनिक गीतलाई म्युजिक भिडियोको रूपमा तयार गरेको तिहारको लगत्तै दर्शकमाझ ल्याउँदै छु । अहिले खोलाखाल्सी…लाई दर्शकले मन पराउनुभए जस्तै हुन्छ कि लफडा…ले पनि दर्शकको मन जित्ने विश्वास मेरो छ ।
तपाईं त नेपाल राष्ट्रिय संगीतकर्मी संघको महासचिव पनि हुनुहुन्छ । अहिलेको अवस्थामा संघले कस्तो काम गरिरहेको छ ?
यो संघबाट राहत प्रदान गरिएको मैले माथि नै उल्लेख गरेको छु । संघबाट काठमाडौंको तिलगंगा क्षेत्र र वीर अस्पतालको अगाडि दैनिक ६ सय जनालाई खाना खुवाउने काम गरियो । त्यो विवादमा आएपछि हामीले लायन्स क्बलका साथीलाई जिम्मा दिएका छौं । सो क्रममा हामीले संघका तर्फबाट सबै पीडित पहिचान गरी करिब ४० हजार परिवारलाई राहत प्रदान पनि गर्न सफल भयौं । संघले आफ्ना विपन्न, असहाय, दृष्टिविहीन सदस्यलाई पनि सो क्रममा राहत प्रदान ग¥यो । संगीत विकास बोर्डका लागि पनि हामीले अहिले पहल गरिरहेका छौं ।

तपाईं त चलचित्र निर्माता, अभिनेता पनि । विभिन्न देशमा कन्सर्ट र सम्मान पनि गर्नुहुन्छ । फिल्म निर्माण र कन्सर्टको ’bout अहिले के सोच रहेको छ ?
मैले चलचित्र ‘पल्टन’ बनाएको हुँ । अहिलेको अवस्था हेर्दा सबै क्षेत्र दयनीय र नाजुक छ । विशेषगरी चलचित्र क्षेत्र झनै नाजुक रहेको छ । तैपनि चाँडै नयाँ चलचित्र निर्माणको तयारीमा छु । जहाँसम्म विदेशमा कार्यक्रमको प्रसंग यहाँले जोड्नुभयो । मैले अहिलेसम्म जापान, कोरिया, मलेसिया, दुबई, साउदी अरब, इजरायल, संयुक्त राज्य अमेरिकासहित ४० वटा देशमा कन्सर्ट र सम्मान कार्यक्रम आयोजना गरिसकेको छु । पछिल्लो नौ महिनायता विश्वव्यापी महामारी कोरोना भाइसर (कोभिड–१९) का कारण क्यानडामा तय भएको कार्यक्रम पनि स्थगित भयो । समस्या कम भएपछि अवश्य क्यानडासहित अन्य देशमा कार्यक्रम गर्नेछु ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

चार वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो