मड्रिड । साबिक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियासँग लज्जास्पद हार बेहोरेको छ । कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेपछि रियल भ्यालेन्सियासँग ४–१ ले पराजित भएको हो । ला लिगामा मड्रिडको यो दोस्रो हार हो । मड्रिड यसअघि क्याडिजसँग १–० ले स्तब्ध बनेको थियो ।
भ्यालेन्सियाले थप एक गोल उपहार पाएको थियो । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो । भ्यालेन्सियामा आइतबार राति भएको खेलमा रियलले खेलको २३औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले मार्सेलोको पासमा गोल गरेका थिए । ३०औं मिनेटमा घरेलु टोलीले खेललाई बराबरी गर्ने मौका पाएपनि कार्लाे सोलेर पेनाल्टीमा चुके । सोलेरको पेनाल्टीलाई थिवाउट कोर्टुवाले बचाए पनि रिवाउन्डमा युनुस मुसाहले गोल गरे पनि भीएआरबाट मान्यता पाएन र भीएआरकै सहायतामा भ्यालेन्सियालाई पुनः पेनाल्टी प्रदान गरिएको थियो । जसमा यसपटक सोलेर चुकेनन् । ४३औं मिनेटमा भीएआरकै सहायतामा राफयल भरानको आत्मघाती गोल देखिएपछि भ्यालेन्सियाले खेलमा २–१ को अग्रता बनायो ।
म्याक्सिमिलियानो गोमेजको प्रहारमा कोर्टुवा बिट भए पनि भरानले बचाउँदा खोज्दा गोललाइन क्रस भएको देखिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचांै मिनेटमा लुका मोड्रिचको प्रहारलाई भ्यालेन्सियाका गोलरक्षकले बचाउँदै बराबरी टारे । ४७औं मिनेटमा काङ इन लिको प्रहार पोस्टमा लागेर फर्कदा भ्यालेन्सियाले अग्रता बढाउन सकेन । ५४औं मिनेटमा सोलेरले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ३–१ ले अघि बढाए । पेनाल्टी बक्समा मार्सेलोले म्याक्सिमिलियानो गोमेजलाई लडाएपछि रेफ्रीले भ्यालेन्सियालाई पेनाल्टी प्रदान गरेको थियो ।
त्यसपछि रियलले दुई मिनेटको अन्तरमा दुई उत्कृष्ट मुभ बनाए पनि भ्यालेन्सियाका गोलरक्षक बाधक बने । फेडरिको भाल्भेर्डेको प्रहारलाई भ्यालेन्सियाका गोलरक्षकले विफल पारे । रिवाउन्डमा भिनिसियस जुनियरको प्रहारले पोस्टको दिशा लिन सकेन । ५८औं मिनेटमा लुका मोड्रिचको प्रहारलाई डोमिनिकले ब्लक गरे । ६३औं मिनेटमा भ्यालेन्सियाले भिएआरकै सहायतामा अर्काे पेनाल्टी पाएपछि सोलेरले कुनै गल्ती नगर्दै ह्याट्रिक पूरा गर्दा भ्यालेन्सिया खेलमा ४–१ ले अघि बढ्यो ।
रामोसले पेनाल्टी बक्समा युनुस मुसाहलाई समातेपछि भ्यालेन्सियाले पेनाल्टीको अपिल गरेको थियो । ६८औं मिनेटमा रोड्रिगो, बेन्जेमा र मार्टिन ओडेगार्डको समन्वयमा बनेको मुभमा लुकास भास्क्वेजको प्रहार आकासिदा रियल अग्रता घटाउनबाट चुक्यो । इन्ज्युरी समयमा मारियानो डियाज र रोड्रिगोले अवसर पाए पनि सदुपयोग गर्न नसक्दा रियलले फराकिलो हार बेहोर्न बाध्य बन्यो । यो हारले रियल म्याड्रिड ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा खुम्चिएको छ । भ्यालेन्सिया ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।






