सार्वजनिक यातायात सेवाको नियमन गर्न ओटीएमएस

फाइल तस्वीर

काठमाडौं । सरकारले सार्वजनिक यातायात सेवा नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ ।

मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवा नियमन गर्न ओटीएमएस लागू गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सरकारले यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि, यातायात क्षेत्र सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्तिअनुकुल बनाउने नीतिअनुसार यातायात सेवा नियमनका लागि ओटिएमएस लागू गरेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा ‘अनलाइन एप्लिकेसनको लगइन बटन’ थिचेर उदघाटन गरे । उनले एकीकृत प्रक्रिया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरण कल्पना गरिएको जनाएका छन् ।

‘सार्वजनिक यातायात क्षेत्रलाई नवीनत्तम रुप दिँदै यसलाई आधुनिक प्रविधिमैत्री बनाएर, आधुनिक प्रविधिसँग आबद्ध गराउँदै लानुपर्छ,’ उनले भने ।

मन्त्री नेम्वाङले सार्वजनिक यातायात सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय कानुन निर्माणमा लागिरहेको जनाएका छन् ।

‘यातायात क्षेत्रका धेरै अधिकार प्रदेशअन्तर्गत गएका छन् । कानुन, नीति तर्जुमा भइरहेका छन्,’ उनले भने, ‘ यद्यपि, केही नीतिगत कुरा संघमा पनि छन् । जसनिम्ती संघीय कानुन बनाउन मन्त्रालय लागिपरेको छ ।’

मन्त्री नेम्वाङले अनलाइन मोनिटरिङ सिस्टमको कार्यान्वयनले यातायात व्यवसायी, कर्मचारी र यात्रु सबैलाई फाइदा हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

सरकारले यसअघि सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन र सार्वजनिक यातायातको टिकट खरिद पारदर्शी बनाउन अनलाइन टिकट खरिद बिक्री निर्देशिका लागू गरिसकेको छ ।

मन्त्रालयले ओटीएमएसले लगानिकर्ताको सञ्चालन खर्च घटाएर मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिद बिक्री प्रक्रियामा बिचौलियालाई पूर्ण रूपमा निषेध हुने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

epaper

ताजा समाचार

बिजुली पानीको भुक्तानीको लागि मौलापुरका स्थानीय आन्दोलित