स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति निर्माणलगायतका लागि बित्यो । अब बिस्तारै ग्रामीण तथा सहरी क्षेत्रमा स्थानीय सरकारको भौतिक उपस्थिति देखिन थालेको छ ।

स्थानीयले आफ्नो आवश्यकताका रूपमा पहिचान गरेका विकास निर्माणको गतिविधिमार्फत स्थानीय सरकारले आफ्नो भौतिक उपस्थिति देखाउन थालेको हो । स्थानीयको मागअनुसार धेरैजसो क्षेत्रमा¬ सडक विस्तार भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । यसैगरी, बिजुलीबत्ती विस्तार, विद्यालय भवन निर्माण तथा मर्मत, पाटीपौवा देवालयहरू निर्माण, सडकबत्तीको व्यवस्थालगायतका माग स्थानीय सरकारमा बढी आउने गरेको छ ।

संसद् विकास कोषको बजेट पनि अधिकांश सडक विस्तारमा नै खर्च हुने गरेको छ । केही महिनाअगाडि मकवानपुरको भीमफेदी गाउँपालिका–८ पुगेका प्रतिनिधिसभा सदस्य विरोध खतिवडासँग स्थानीयले पक्की सडकसँगै सडकको माग गरेका थिए । सांसद खतिवडाले हालै मात्र उक्त क्षेत्रमा सडक निर्माणका लागि शिलान्यास गरेका छन् ।

गाउँगाउँसम्म सडक पु¥याउने लक्ष्यसहित काम गरिरहेका भीमफेदी गाउँपालिकाका ७ र ८ हुँदै कान्तिलोकपथ जोड्ने सडकको शिलान्यास गरिएको छ । गाउँपालिकाको कोगटे र धार्के हुँदै कान्तिलोकपथ जोड्ने सडकको शिलान्यास प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले गरेका हुन् ।

गाउँसँग सडक सञ्जाल जोडिएपछि स्थानीयले आफ्नो बारीमा उत्पादन भएको केराउ र सिमी बिक्री गरेर आर्यआर्जन गरेको छन्

गाउँको उत्पादन सहरसम्म पु-याउने र सहरसँग सहज पहुँचका लागि पालिकाले आन्तरिक स्रोत परिचालन गर्ने निर्माण गर्न लागेको सडकबाट स्थानीयलाई ठूलो राहत मिल्ने बताइएको छ । महभीरसम्म पुगेको सडकलाई थप विस्तार गर्न गाउँपालिकाले भ्याटसहित ७५ लाख ९८ हजार २ सय ९७ रुपैयाँको लागतमा सडक निर्माण थालेको हो ।

ठेक्कामार्फत निर्माण थालिएको सडकको काम हेटौंडाको शाश्वत कन्ट्रक्सनले गर्नेछ । शिलान्यास गर्दै सांसद खतिवडाले सडकले गाउँलेको जीवनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । सडकसँगै यहाँको उत्पादन बजारसम्म जाने र गाउँमा आर्थिक उपार्जनमा जनताको सहभागिता बढ्ने उनको भनाइ थियो ।

उनले सडक अभावका कारण गाउँबाट बजार धाउनुपरेको विगत स्मरण गरे । सडक सञ्जालले गाउँलाई छोएकामा उनले खतिवडालाई मुस्कुराउँदै धन्यवाद भने । सडक सञ्जालले नजोडिएका कारण गाउँका कति मानिस मोटरै नदेखी बिते । कति समयमा उपचार नपाएर ज्यान गुमाए । अब सडकसँगै गाउँमा खुसी आएको उनले बताए । ढल्कँदो उमेरमा गाउँसम्म सडक आयो । अब गाडीसँगै अन्य सुविधा गाउँसम्म आउँछ भन्दै उनले खुसी व्यक्त गरे ।

जिल्ला सदरमुकाम त टाढाको कुरा गाउँपालिका भीमफेदीसम्म पुग्न एक दिनको यात्रा गर्नुपर्ने बाध्यताबाट गाउँले मुक्त भएका छन् । भीमफेदी गाउँपालिकाले २ वर्ष लगाएर डेढ करोडको लागतमा गाउँसम्म बाटो पु¥याएपछि महभीर, बाह्रघरेसहित गाउँका ३ सय घरका बासिन्दा लाभान्वित भएका छन् । गाउँबाटै गाडी चढेर बजारसम्म आउने अवस्था बनेको छ ।

भीमफेदी—कोगटे—देउराली—सिस्नेरी सडकखण्डको भीमफेदी—७ मेलटारबाट गाउँपालिकाले ८ किलोमिटर लामो सडक निर्माण गरिदिएपछि गाउँलेको गाडी देख्ने र सवारी चढेर हिँड्ने सपना साकार भएको हो ।

‘हामीले अहिले बाटो गाउँसम्म आउने कल्पनासमेत गरेका थिएनौं,’ ६६ वर्षीय दिलबहादुर घलानले भने, ‘गाउँसम्म जाने सडक खण्डमा पर्ने चक्कुभीर चिरेरै बाटो गाउँसम्म बाटो आउने कुरा सोचेका पनि थिएनौं ।’

हिँड्न पनि मुस्किल हुने भीर काटेर गाउँपालिकाले बाटो निर्माण गरेपछि गाउँमा सवारीसँगै गाउँको उत्पादन सहरसम्म ल्याउने अवस्था बनेको छ । बोकेर स्वास्थ्य संस्थासम्म लैजान नसक्दा धेरै बिरामीले उपचारको अभावमा ज्यान गुमाएको वडा सदस्य सीता थिङले बताइन् । ‘अब उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्ति पाएका छौं,’ उनले भनिन् । गाउँसँग सडक सञ्जाल जोडिएपछि स्थानीयले आफ्नो बारीमा उत्पादन भएको केराउ र सिमी बिक्री गरेर आर्यआर्जन गरेको उनले बताइन् ।

जनताले सेवा लिन गाउँपालिकासम्म आउने वातावरण तयार गर्न सबै वडा कार्यालयसम्म सडक पु-याउने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । ‘सडक नभएका कारण सेवा लिनबाट जनतालाई वञ्चित गराउन हँुदैन भन्ने लक्ष्यका साथ हामीले काम गरिरहेका छौं,’ उनले भने । सडक सञ्जालले गाउँलाई समेट्ने अभियानमा गाउँपालिका रहेको भन्दै अब चाँडै ट्र्याक खोल्ने काम सकेर स्तरीकरणको काम गर्ने योजना गाउँपालिकाले बनाएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

आश्विन शुक्ल षष्ठी : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै