विप्लवका  नेता खोज्न गाउँगाउँमा प्रहरी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा नेता कार्यकर्तालक्षित निगरानी बढाउँदै गाउँगाउँमा सुरक्षा गस्ती बढाएको छ ।

प्रतिबन्धित दलका नेता खोज्न र सो समूहबाट हुने गतिविधि नियन्त्रण गर्न भन्दै सरकारले गाउँगाउँमा सुरक्षाकर्मीको बाक्लो टोली परिचालन गरेको हो ।

स्रोतका अनुसार पश्चिम नेपालका पहाडी तथा पश्चिम तराई जिल्लामा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले संविधान तथा कानुनविपरितका गतिविधि गर्नेउपर निगरानी जारी राखिएको बताए ।
‘संविधान तथा कानुनविपरितका गतिविधि गर्न पाइ“दैन, त्यस्ता गतिविधि गर्नेउपर निगरानी जारी छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने, ‘बर्जित कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइन्छ ।’

पछिल्लो समय विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधि बढेको भन्दै सुरक्षा संयन्त्रले रुकुम, रोल्पा, दाङ, डडेलधुरा हुम्ला, कपिलवस्तुलगायत जिल्लाका भित्रि गाउँ तथा बस्तीमा गस्ती बढाएको हो ।

हुम्लाका केही स्थानमा विप्लव समूहका गतिविधि बढेपछि तीनवटै सुरक्षा निकायबाट गस्ती परिचालन गरिएको हुम्ला प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

विप्लव समूहले संगठन विस्तार, नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनेलगायत गतिविधि गरिरहेको सूचनापछि गस्ती बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रतिबन्धित समूहका गतिविधि कडाईसाथ नियन्त्रण र त्यस्ता कार्यमा संलग्नलाई पक्राउ गर्न निर्देशनसमेत गरेको छ ।

विभिन्न समूहका नाममा चन्दा असुली, युवालाई कम्ब्याड ड्रेसमा मार्चपास गराउने र पार्टीको विभिन्न अभियान सञ्चालन गरिएको सूचनापछि निगरानी बढाएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

विप्लव समूहसहित सो समूहको नाममा चन्दा माग्नेक्रम बढेको र त्यस्ता उजुरी स्थानीय प्रशासनमा आउनेक्रम बढेको गुनासोपछि सुरक्षा निगरानी बढाइएको हो ।

गृह मन्त्रालयले जनप्रतिनिधि, निर्माण व्यवसायी, उद्योगी र कर्मचारीबाट स्थानीय प्रशासनमा चन्दा मागेका उजुरीसहितका गुनासा बढ्न थालेको सूचना आएको बताउँदै आएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बुढाले प्रतिबन्धयता हालसम्म विप्लव समूहका करीब १ हजार ९ सय नेता– कार्यकर्ता पक्राउ गरी कारबाही गरिएको जानकरी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान