बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ ।
नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत शिकारका लागि आएका बेल्जियम नागरिक वार्य फ्रेडिक डार्कले शिकार आरक्षको धुस्तुङ ब्लकमा दुई वटा वन्यजन्तुको शिकार गरेका हुन् ।
शिकारीले नाउर र झारल शिकार गरे बापत सरकारलाई ३ लाख ६१ हजार ५ सय रुपैयाँ राजश्व तिरेको नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीका डाइरेक्टर अमृत थापाले जानकारी दिए ।
मंसिर ५ गतेदेखि सुरु भएको शिकार १० गते सम्पन्न भएको प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । एक हप्ताको अवधिमा उनले दुई वन्यजन्तुको शिकार गरे ।

विभागले शिकारको लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि एउटा मात्रा शिकार कम्पनीले प्रस्ताव पेश गरेको थियो । वि.स २०४२ सालमा स्थापना भएको आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक शिकारी आउने गरेका छन ।
आरक्षणमा बर्सेनी असोज–मंसिर र फागुन– बैशाख गरी दुई पटक शिकार खुल्छ । गतवर्षको दोस्रो यामको शिकार कोरोनाको कारण रोकिएको थियो । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ ।
पेशेवर विदेशी सिकारीहरुका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी बार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ ।






