जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा सौन्दर्यीकरण योजना सुरु गरेको हो । उक्त स्थानमा विद्यापतिले १२ बर्षसम्म महत्वपूर्ण रचना गरेका थिए ।
मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत प्रादेसिक गौरवको योजनाका रुपमा बनौलीस्थित विद्यापति डिह र सोही ठाउँमा रहेको लक्ष्मी सागर पोखरीलाई पर्यटकीयस्थल बनाउन लागिएको हो ।
१२ करोड ७२ लाख लागत अनुमान गरिएको तीन वर्षीय योजना प्रारम्भिक चरणमा ८ करोडमा ठेकेदारसँग सम्झौता भएकोे थियो भने मुख्यमन्त्री लालबाबु राउतबाट शिलान्यास भैसकेको छ ।
विद्यापतिले १२ वर्षसम्म प्रवास गरेको स्थान (डिह) मा संग्राहलय निर्माण गरिने र त्यसमा कवि कोकिलहद्वारा रचित रचना र कृतिलाई संरक्षित गरिने स्वच्छता अभियानका संयोजक डिभिजन इन्जिनियर भगवान झाले जानकारी दिए ।
यसका साथै डिहसँगै रहेको पोखरीमा चारैतिर घाट बनाएर त्यसलाई संस्कृति प्रवद्र्धनका लागि छठ घाटको रुपमा प्रयोग गर्ने, विद्यापतिको स्मारिका निर्माण, बालवाटिका निर्माण र सुविधा सम्पन्न सभाकक्ष र शौचालयको निर्माण कार्य गरिने योजना रहेको छ ।
बनौलीमा भएकै बेला विद्यापतिले ताम्रपत्रमा मिथिला अक्षरमा भागवत उल्था गरेर लेखेका थिए । सो ताम्रपत्रपछि भारत सरकारले आफ्नो अधिन लिएर दरभंगाको संग्रहालयमा राखेको छ
इतिहासकारका अनुसार हालको बनौलीगाउँ १५ औं शताब्दीमा राजबनौलीको रुपमा रहेको थियो । सो बेला मिथिलामय गजरथपुर राज्यका राजाशिव सिंहमाथि शत्रुहरुले आक्रमण गर्दा राज पण्डित एवं कवि विद्यापति ठाकुरलाई रानी लखिमाको सुरक्षाको जिम्मेवारी दिइएको थियो । उनी रानीलाई लिएर बनौली गाउँमा आश्रय लिएका थिए । विद्यापति सम्बन्धि अनुसन्धान गरेका जनक हजारी विद्यापीठ जनकपुरधामका प्राध्यापक रुद्रकुमार झाले मैथिली भाषीहरुका लागि मात्रै नभएर समग्र लेखकहरुका लागि यो तीर्थस्थल भएको बताउछन् । गाउँपालिकालाई विद्यापति गाउँपालिका राख्न सरकारलाई सुझाब दिएको स्थानीय बुद्धिजिवी भगवान मिश्रले वताए ।
रानीलाई श्रीमदभागवत सुनाउथे
राजदरबारका पण्डित कवि विद्यापति राजाका आज्ञानुकुल कर्तव्यनिष्ठ भएर रानीको सुरक्षामा लागेका कविले सो बेला श्रीमद्भागवत वाचन गरेर रानीलाई सुनाउथे । बनौलीमा भएकै बेला विद्यापतिले ताम्रपत्रमा मिथिला अक्षरमा भागवत उल्था गरेर लेखेका थिए । सो ताम्रपत्रपछि भारत सरकारले आफ्नो अधिन लिएर दरभंगाको संग्रहालयमा राखेको छ ।
बनौलीबाटै विद्यापतिले लिखनावली र दुर्गा भक्ति तरंगिनी पुस्तकको रचना गरेका थिए । सोही लिखनावलीको आधारमा मल्लकालमा प्रशासनिक कार्य संचालित हुन्थ्यो । मैथिली भाषाको विकासमा महत्वपूर्ण योगदान दिएका विद्यापतिको रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्रकाशित छन । मैथिलीमा मात्रै उनले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गरेका छन् भने अबहठ्ठमा दुईवटा खण्डकाव्य र्कीर्तीलता र र्कीर्तीपताका तथा संस्कृतप्राकृत मैथिलीमा गोरक्षविजय र संस्कृत प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् ।
संस्कृतमा उनले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेखेका थिए । तीमध्ये शिक्षाप्रद रोचक कथा सङ्कलन पुरुष परीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दुर्गाभक्ति तरङ्गनि, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड. भक्तितरङ्गनि आदि अमर कृति छन् । यी सबै कृतिमा तत्कालीन सूचना र सामाजिक अवस्थाको चित्रण गरिएको पाइन्छ ।
निकै पौराणिक र ऐतिहासिकस्थल भए पनि विद्यापति डिह संरक्षण र संवद्र्धन हुन नसक्दा ओझेलमा परेको थियो । तर, प्रदेश सरकारले यसलाई स्वच्छता अभियानमा राखेर यसको ऐतिहासिकतालाई जोगाउने सानो प्रयास मात्रै गरेको मुख्य मन्त्रीलालबाबु राउतले बताएका छन् ।