काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका बीचमा पछिल्लो समय सम्बाद नै भईरहेको छैन् । पार्टी बैठक बाहेक दुई अध्यक्ष बीचको छलफल विवाद समाधान केन्द्रीत भएको छैन् । अध्यक्षद्धय ओली र दाहाल आ–आफ्नै रणनीति अनुसार अगाडी बढन खोजेपछि पार्टीभित्रको विवाद थप चर्किदै गईरहेको छ ।
२६ कातिकमा अध्यक्षद्धय ओली र दाहालका बीचमा छलफल भएको थियो । पार्टीभित्र यस अघि देखिदै आएको समस्या दुई अध्यक्षले आन्तरिक छलफल गरेरे टुंगो लगाउँदै आएका थिए । तर पछिल्लो समय एकले अर्कोलाई गम्भिर आरोप सहित सचिवालय बैठकमा लिखित रुपमै राजनीतिक प्रस्ताव पेश गरेपछि दुई अध्यक्ष बीचको सम्बाद टुटेको हो ।
अध्यक्ष दाहालले २८ कातिकको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए । त्यसको जवाफ सहित ओलीले अर्को राजनीतिक प्रस्ताव १३ मंसिरको सचिवालय बैठकमा पेश गरेका छन् । दाहालमाथि गम्भिर आरोप लगाउँदै ओलीले आफ्नो प्रस्तावमा बिभिन्न प्रश्न तेर्साएका छन् ।
९ सदस्यीय सचिवालय रहेको नेकपामा अध्यक्ष दाहाल सहित वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ एउटा समुहमा रहेका छन् । अर्को तर्फ नेकपा अध्यक्ष ओली र सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेलको छुटै समुह छ । दुबै समुहमा खुलेर नलागेका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बीचबीचमा रहदै आएका छन् ।
नेकपा स्रोतका अनुसार दाहाल–नेपाल समुहले सरकार र पार्टी सञ्चालनमा असफल रहेको निष्कर्ष सहित ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा गराउँने रणनीतिमा रहेका छन् । तर ओलीले अहिले पार्टी महाधिवेशन अघि अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्री पद कुनै पनि हालतमा नछोड्ने रणनीतिमा रहेका छन् ।
राजिनामा गराउँन पार्टीमा खेल भईरहेको खुलासा प्रधानमन्त्री ओलीले यस अघि समय समयमा खुलासा गर्दै आएका छन् । तर पार्टी महाधिवेशन अघि अल्पमत र बहुमतको आधारमा हुने निर्णय आफूलाई मान्य नहुने बताउँदै आएका ओलीले आफू बिरुद्ध निर्णय हुने बैठकमै सहभागि नहुने रणनीति बनाएका छन् ।
दाहाल–नेपाल समुहले सरकार र पार्टी सञ्चालनमा असफल रहेको निष्कर्ष सहित ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा गराउँने रणनीतिमा रहेका छन्
बुधबारको बैठकमा सोही रणनीति अनुसार ओली सचिवालय बैठकमा सहभागि भएनन् । २० मंसिरमा बस्ने सचिवालय बैठकमा समेत ओली सहभागि नहुने दावी बालुवाटार स्रोतको छ । बैठक अघि नै दुई अध्यक्षका बीचमा सहमती भए ओली बैठकमा सहभागि हुने हैन भने सहभागि नहुने ओलीको अडान रहेको छ ।
दाहालले पेश गरेको राजनीतिक प्रस्ताव ‘आरोपपत्र’ रहेको बताउँदै ओलीले फिर्ता हुनुपर्ने अडानमा छन् । साथै दाहालले माफी माग्नुपर्ने र दुबै अध्यक्षले पेश गरेको प्रस्तावमाथि छलफल गर्न औचित्य नभएको ओलीले बताउँदै आएका छन् । तर दाहाल नेपाल समुहले दुबै अध्यक्षले पेश गरेको प्रस्तावमा बैठकमै छलफल हुनुपर्ने र बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने अडानमा रहेका छन् ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नै पर्ने बताएका छन् । पौडेलले एक पद छाड्ने बाहेकमा कुनै सम्झौता नहुने स्पष्ट पारे । पार्टीभित्रको समस्यालाई निकास दिनका लागि ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद मात्र लिनुपर्ने उनको भनाई छ ।
‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’ पौडेलले भने । पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताउँदै उनले पार्टी एकता जोगाउँनुपर्ने बताए ।
पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खण्डमा विवाद समाधान हुने पौडेलको भनाई छ । उनले ओलीले पार्टीको निर्णय मान्नुपर्ने भन्दै पार्टीले सरकार चलाउने कुरा स्वीकार गर्नुपर्ने बताए ।
‘पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भुमिका खेल्नुपर्छ,’ पौडेलले भने । पौडेलले पार्टी विवादको समाधान जतिसक्दो निकाल्नुपर्नेमा जोड दिए । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्ने समेत बताए ।
नेकपा विवादले संकटपूर्ण अवस्था सृजना गरेको भन्दै उनले अब समस्या समाधान गर्ने जिम्मा ओलीले लिनुपर्ने बताए । सचिवालय बैठकमा पेश भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेर मात्रै निकास निस्कने उनको भनाई छ । त्यसका लागि ओली तयार हुनुको विकल्प नभएको पौडेलले बताए ।
दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने बताउँदै उनले प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको बताए । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उनको तर्क छ ।
तर ओली दुवै प्रस्तावलाई फिर्ता लिनुपर्ने अडानमा छन् । नेकपा महासचिव पौडेलले २० मंसिरको सचिवालय बैठक अघि दुई अध्यक्षका बीचमा सहमती नभए बैठक नै बस्न नसक्ने बताए । दुवै प्रस्ताव फिर्ता गरी सहमतिमै बैठक चलाउनुपर्ने बताउँदै उनले यसबीच सहमतिका लागि प्रयास गरिने बताए ।
‘सहमतिबिना बैठक बस्न सक्दैन् । २० गते बैठक बोलाइएको भए पनि त्यसअघि सहमति नभए बैठक बस्ने सम्भावना कम छ,’ पौडेलले भने, ‘यसबीच दुई अध्यक्षबीच सहमतिको प्रयास गरिने छ ।’
सहमतिका लागि ओलीले २६ भदौको सहमतिमा फर्किने सहमति जनाएका छन् । तर दाहाल नेपाल समुहले २६ भदौको निर्णय ओलीले कार्यान्वयन नगरेको आरोप लगाउँदै अब बैठकबाटै छिनोफानो गर्नुपर्ने अडानमा छन् । दुबै समुह आ–आफ्नै अडानमा अडिग भएकै कारण दुई अध्यक्षका बीचमा सम्बाद समेत हुन छोडेको छ ।






