सामाजिक न्याय : अल्पसंख्यकलाई समान अधिकार

समाजमा शक्ति, स्रोत साधन र अवसरको न्यायोचित साझेदारी वा वितरण हुन नसक्दा केही व्यक्ति र समुदाय बढी लाभान्वित हुन पुग्छन्, यसका कारण अर्को वर्ग वा समुदायप्रति अन्याय हुन पुग्छ । यो अवस्थामा समाजभित्र दुई वर्गको उत्पत्ति हुन्छ– सम्पन्न, सुविधाभोगी एवं शासनमा पहुँच भएको वर्ग र वञ्चितीकरणमा परेको तथा साधन, स्रोत, शक्ति र अवसर सबैबाट विमुख रहेको कमजोर वर्ग । राज्यले यी दुवै वर्गका लागि समान व्यवहार गर्न सक्नुपर्छ । यस्ता कमजोर सीमान्तकृत वर्गलाई राज्यले समावेशीकरण नीति अवलम्बन गरी मूल प्रवाहीकरण गर्न सक्नुपर्छ । यस्ता कमजोर वर्ग सामाजिक, आर्थिक, राजनीतिक, मानसिक र शारीरिक सबै प्रकारले पछि परेका हुन्छन्, एउटा आदर्श र लोकतान्त्रिक राज्यको मूल कर्तव्य भनेकै यी सबै प्रकारका कमजोरीलाई सम्बोधन गरी सारवान् समानताको सिद्धान्तमा आधारित भएर विशेष संरक्षणका नीति अवलम्बन गरी न्याय प्रदान गर्ने प्रचलन प्रायः विश्वभरि अवलम्बन गरिँदै आइएको अवस्था छ ।

नेपालमा लामो समयदेखि जनसंख्याको ठूलै हिस्सा वञ्चितीकरणमा परेकाले उनीहरूलाई राज्यका संयन्त्र तथा क्रियाकलापमा मूल प्रवाहीकरण गरी समान अवस्थामा ल्याउनुपर्ने अवस्था देखिएको छ । हाम्रो सन्दर्भमा विश्लेषण गर्दा जातीय, धार्मिक र भाषिक तीनै प्रकारको विभेदजन्य अवस्था मात्रै होइन, राउटे, कुसुन्डा, चेपाङ जस्ता लोपोन्मुख वर्गको समेत उपस्थिति देखिएको छ । हालसम्मको प्रयासले सबै कमजोर वर्गलाई न्याय प्रदान गर्न सकेको छैन । लोपोन्मुख समुदायका लागि न्याय प्रदान गर्ने विषय प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । सिद्धान्तमा मात्र स्वीकार गरिएको छ । केही वर्षयता आरक्षण, सकारात्मक विभेद, कोटा निर्धारण, प्राथमिकता प्रदान जस्ता कार्यक्रम कार्यान्वयनका लागि न्याय प्रदान गर्ने सोचका साथ राज्य अघि बढिएको छ । तर यी कार्यक्रम र नीतिबाट पनि परिणाममा कमजोर वर्गले न्याय पाएको अनुभूति हुन सकेको छैन, यसमा धेरै वटा आलोचनात्मक पक्षहरू रहेका छन् ।

कमजोर वर्गलाई समानस्तरमा ल्याई न्याय दिलाउने अभीष्ट विभिन्न देशका संविधानले गरेका प्रतिनिधि उदाहरण पेस गरी हाम्रो सन्दर्भमा कसरी अघि बढ्दा उपयुक्त हुने हो, निर्णयमा पुग्नु जरुरी छ ।

कमजोर वर्गलाई समानस्तरमा ल्याई न्याय दिलाउने अभीष्ट विभिन्न देशका संविधानले गरेका प्रतिनिधि उदाहरण पेस गरी हाम्रो सन्दर्भमा कसरी अघि बढ्दा उपयुक्त हुने हो, निर्णयमा पुग्नु जरुरी छ । छिमेकी देश भारतमा सबै नागरिकलाई आफ्नो भाषा, संस्कृतिको संरक्षण गर्ने अधिकार हुने, कुनै पनि शिक्षण संस्थाका भाषा, धर्म, संस्कृति, जातजातिका आधारमा प्रवेश प्रदान गर्न विभेद नगर्ने, भाषिक धार्मिक अल्पसंख्यकलाई शिक्षा दिने उद्देश्यले खुलेका संस्थाहरूमा प्रवेश पाउने अधिकार प्रदान गर्ने जस्ता अधिकार सुरक्षित गरिएको छ । दक्षिण अफ्रिकी संविधानले आफूले चाहेको भाषामा शिक्षा प्राप्त गर्न सक्ने, आफ्नो चाहनाअनुसारको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने, अन्य संस्कृति, धर्म भाषाभाषीहरूले पाएसरहको सम्पूर्ण अधिकारको उपभोग गर्ने स्वतन्त्रता प्रदान गरिएको छ ।

स्विस संविधानले धार्मिक स्वतन्त्रता प्रदान गर्ने, धार्मिक समूहमा क्रियाशीलता दिई धार्मिक शिक्षा प्राप्त गर्ने, कुनै पनि समुदायका धार्मिक सांस्कृतिक विधि व्यवहारलाई मान्न बाध्य नपारिने अधिकार दिँदै यसको उपयोग गर्दा देशको सांस्कृतिक तथा भाषिक विविधताको सम्मान गर्नुपर्ने उल्लेख छ । तोकिएको कार्यालयको भाषाबाहेक निश्चित भाषाभाषीलाई सम्बोधन उनीहरूकै भाषामा गरिने प्रावधान छ । भाषाको चयन गर्दा बहुभाषिक समुदायलाई समर्थन गर्ने गरिन्छ । अल्बानियामा अल्पसंख्यकका सम्बन्धमा अन्तर्राष्ट्रिय दस्तावेजमा भएका प्रावधानअनुरूप गर्न उल्लेख छ ।

चीनले आदिवासी अल्पसंख्यकको हितका लागि नीति तथा कार्यक्रमहरू सञ्चालन गर्ने तर यस्ता नीति तथा कार्यक्रमको कार्यान्वयनमा जाँदा जातजाति र भाषाभाषीका सम्बन्धमा कुनै खलल पर्न नहुने अवस्था विद्यमान हुनुपर्ने व्यवस्था छ । उल्लिखित देशहरूका प्रतिनिधि उदाहरण अध्ययन गर्दा देशवासीका बीच सौहार्दता कायम गर्ने, साम्प्रदायिकता भड्काउ गर्ने क्रियाकलापलाई प्रश्रय नदिने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने व्यवस्था गरिएको पाइन्छ ।

उल्लिखित अवस्थामा नेपालमा कस्तो प्रकारको नीति तथा कार्यक्रमहरू तय हुनु आवश्यक पर्ने हो, सोको विश्लेषण गरी यसको प्रत्याभूति गर्नुपर्छ । सामान्यतया नेपाल अधिराज्यको संविधान २०४७ ले कमजोर वर्गलाई समान अवसर प्रदान गर्ने विषयमा गरेका प्रावधानलाई नेपालको संविधानले सम्बोधन गरेको अवस्था छ । संविधानमा धर्म, जात, भाषा र संस्कृति सबैका आधारमा पहिचान कायम हुनुपर्ने र कमजोर वर्गलाई सूविधासम्पन्न वर्गको बराबरीमा ल्याउन विशेष कार्यक्रम कडाइका साथ लागू गर्ने, यसलाई खुला हृदयले सम्बोधन गर्नुपर्ने अवस्था छ । तर यो व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढ्ने विषयमा पर्याप्त गृहकार्य हुनुपर्दछ । यस्तो गृहकार्य गर्दा केही सीमा निर्धारण गर्ने विश्वव्यापी मान्यता छ ।

उदाहरणका लागि अमेरिकी संविधानले कमजोर वर्गलाई अधिकार प्रदान गर्दा कुनै सीमा निर्धारण गर्ने पक्षलाई आत्मसात् गरेको छैन तर संवैधानिक आशयको व्याख्या गर्दै अमेरिकी सर्वोच्च अदालतले यस्ता अधिकारहरू निरपेक्ष रूपमा प्राप्त हुन नसक्ने आदेश गरिदिएको छ । जस्तै निन्दा गाली बेइज्जती गर्ने, गैरकानुनी कार्य गर्ने, अश्लीलता प्रदर्शन गर्ने र अदालतको अपहेलना गर्ने विषयलाई यसको सीमा तोकिएको छ । भारतको संविधानले राष्ट्रको सुरक्षा, विदेशी सम्बन्ध, सार्वजनिक व्यवस्था, नैतिकता र आचरण, अदालतको अपहेलना, गाली बेइज्जती, हिंसात्मक कार्य, भारतको सार्वभौमसत्ता र एकतालाई यस्ता विशेष कार्यक्रममा नसमेटिने गरी सीमा वा बन्देज लगाइएको छ । यस प्रकार विश्व परिवेशमा नै यस्तो विशेष कार्यक्रमहरूको कार्यान्वयनमा जाँदा केही सीमा आफ्नाआफ्नै प्रकारले निर्धारण गरेको अवस्था छ ।

नेपालको उपेक्षित, कमजोर, सीमान्तकृत र पछि परेका पारिएका वर्गलाई विशेष कार्यक्रमअन्तर्गत बराबरीमा ल्याउने विषयमा सबैका बीच मतैक्यता रहेको छ । तर लोकतन्त्रका नाममा जनताहरूलाई भड्काउने, साम्प्रदायिकता फैलाउने, उचनीच व्यवहार गर्ने, बदलाको भावसहितको व्यवहार गर्ने लक्षण देखिँदै छन् । लोकतन्त्रको आशयमा आघात पुग्ने गरी न्यून संख्यामा रहेकाले बहुमतमाथि शासन गर्ने, देशको ठूलो जनसंख्या ओगट्ने जातजाति नकारात्मक सोचका साथ क्रियाकलाप अघि बढाउने, राष्ट्रको पहिचान दिने धर्मलाई ओझेलमा पार्ने, दीर्घकालीन प्रभाव पार्ने गरी महŒवपूर्ण विषयमा जनताको अभिमतबिना नै निर्णयमा पुग्ने, प्रत्यक्ष प्रजातन्त्रका विषयहरूभन्दा अप्रत्यक्ष प्रजातन्त्रका प्रावधानलाई प्राथमिकतामा राख्ने जातजातिगत, भाषाभाषी, धर्म, सम्प्रदायका आधारमा नेपाली जनतालाई खण्डीकृत गर्ने, नेपाली नेपालीका बीचको एकता, सदभावमा खलल आउने प्रकारका प्रयासहरू भइराखेका छन् । यसलाई यथा समयमा निश्चित सीमाभित्र राख्नु जरुरी हुन्छ । अन्यथा यसबाट गम्भीर समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

नेपालमा लामो समयदेखि जनसंख्याको ठूलै हिस्सा वञ्चितीकरणमा परेकाले उनीहरूलाई राज्यका संयन्त्र तथा क्रियाकलापमा मूल प्रवाहीकरण गरी समान अवस्थामा ल्याउनुपर्ने हुन्छ ।

यस विषयमा देशको जिम्मेवार नेतृत्ववर्ग नै द्विविधामा परेको अनुभूति भइराखेको छ । राष्ट्रिय स्वार्थका विषयमा जिम्मेवार पक्ष जनताप्रति जिम्मेवार भई अघि बढ्नुपर्ने अनिवार्य आवश्यकता खड्किएको छ । हाम्रो सन्दर्भमा समावेशीकरणका नीति कार्यान्वयनमा लैजानुपर्दा समेत केही विषयमा ध्यान जानु जरुरी छ । जस्तै, समावेशीकरणमा जाँदा सकारात्मक विभेद कार्यक्रमलाई अवलम्बन गर्नुपर्दछ, गरिएको छ । यसले सम्पूर्ण देशवासीका बीच सौहार्दता कायम गर्दै अघि बढ्न सक्नुपर्दछ । तर नेपालमा यो नीतिको आलोचना भइराखेको छ । सकारात्मक विभेद कार्यक्रमको समयसीमा निश्चित हुनुपर्दछ, यसले समेट्न खोजेको वर्ग र समुदायको पहिचान हुनुपर्दछ । यसबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गन्तव्य पारदर्शी बनाउन सक्नुपर्दछ । यी सबै विषयमा अन्योलमा रही गरिएको सकारात्मक विभेद कार्यक्रमले देशवासीका बीच सौहार्दता कायम राख्न सक्दैन, जसका लक्षणहरू हाम्रो सन्दर्भमा देखिन थालेका छन् ।

यस्ता विशेष कार्यक्रमले सबै पक्ष (सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक आदि) लाई सम्बोधन गर्ने भए तापनि आर्थिक पक्ष ज्यादा महŒवपूर्ण हुन आउँछ । एउटा सुविधा सम्पन्न जात, धर्ममा आबद्ध भएकाहरू आर्थिक रूपले अत्यन्त विपन्न हुन सक्छन् । त्यसैगरी कमजोर जातजातिका वर्गमा रहेका उदाहरणका लागि दलितभित्र सम्पन्न सुशिक्षित, सचेत र जागरुक नागरिकसमेत पाइएका छन् । यस अवस्थामा राष्ट्रले सम्बोधन गर्न खोजेको वर्ग दलित समुदायको धनीमानीलाई हो या ब्राह्मण, क्षेत्री समुदायको विपन्न नागरिकलाई हो वा यी दुवै वर्गका आर्थिक रूपमा विपन्न व्यक्ति र परिवारलाई हो ? निश्चित हुनुपर्दछ । यसमा द्विविधा हुन पर्ने अवस्था छैन । यी दुवै समुदायका विपन्न वर्गलाई राष्ट्रिय नीति र विशेष कार्यक्रमले समेट्नुपर्ने हुन्छ । हालको अवस्थामा अघि बढ्दै जाने हो भने यस्ता विशेष कार्यक्रमले देशभित्र अर्को द्वन्द्वको आमन्त्रण गर्न सक्छ, जसको संकेत देशभित्र देखिन थालेका छन् ।

यस्ता कमजोर र पछि परेका वर्गको उत्थानका विशेष कार्यक्रम तर्जुमा गर्दा अन्य देशले अवलम्बन गरिआएका सीमालाई आत्मसात् गर्नै पर्दछ । यस सन्दर्भमा विश्लेषण गर्दा देशको सार्वभौमसत्ताको संरक्षण, क्षेत्रीय अक्षुण्णता, विभिन्न जातजाति, धर्म, भाषा भाषि, संस्कृतिकर्मी एवं समुदायका बीचको सुसम्बन्धमा खलल पार्ने काम निषेध गर्नुपर्दछ । यसै गरी एक वर्गले अर्को वर्गमाथि द्वेष राख्ने, बदलाको भाव राख्ने, गाली बेइज्जती र अनर्गल अभिव्यक्ति दिने, अदालतको अपहेलना गर्ने, सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पार्ने, अपराध र हिंसात्मक कार्यमा प्रोत्साहन दिने, सार्वजनिक स्वास्थ्य, शिष्टाचार वा नैतिकता प्रतिकूलको कुनै कार्य गर्ने जस्ता विषयलाई संविधानले नै निषेध गर्नुपर्दछ । यी सीमाको उल्लंघन नहुने गरी मात्र यस्ता कमजोर वर्गको उत्थानका लागि राज्यले नीति बनाउन सक्छ, यी सीमाको उल्लंघन हुने प्रकारले राज्यले विशेष कार्यक्रम ल्याई सामाजिक भड्काउ, साम्प्रदायिकतालाई प्रश्रय दिने गरी विशेष कार्यक्रम र नीति ल्याइनुहुन्न, यस सन्दर्भमा सम्बन्ध पक्षको यथेष्ट ध्यान जान जरुरी छ । अन्यथा कमजोर वर्गको उत्थानका लागि अवलम्बन गरिएका नीति तथा कार्यक्रम देशका लागि प्रत्युत्पादक सिद्ध हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)