दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका ५ नम्बर वडा कार्यालय दुई महिनादेखि बन्द रहेको छ । दुई बर्षदेखि काम गर्दै आएका कार्यालय सहयोगीलाई हटाई गाउँपालिकाले नयाँ कार्यालय सहयोगी पठाएकोले विवाद बढदै गएपछि दुई महिनादेखि कार्यालय बन्द रहेको हो ।
कार्यालय दुई महिनादेखि बन्द भएपनि कार्यालय खुलाउन गाउँपालिकाकाले कुनै चासो देखाएको छैन । केही महिना अघि ठाटीकाँध गाउँपालिकाले लिएको कार्यालय सहयोगीको परिक्षामा जनप्रतिनिधीले काम गरिरहेको परिक्षा भन्दा आफ्नो नाता पर्ने व्याक्तिलाई कार्यालय सहयोगी बनाएको भन्दै स्थानीयबासीले ताला वन्दी गरेका थिए । तालावन्दी गरेको दुई दिनपछि प्रहरी चौकी ठाटीकाँधले ताला खोलेपनि कार्यालय सहयोगीको विवाद टुंङ्गो नलाग्दा वडाकार्यालय बन्द रहेको हो ।
दुई महिनाको अवधिमा दुईदिन मात्र वडाकार्यालय खुलेको स्थानीयबासी जानकारी दिए । सामाजिक सुरक्षाको भत्ता वितरणमा मात्र कार्यालय खोलियो । दुई महिनाको अवधिमा दुईदिन मात्र वडाकार्यालय खुलेको स्थानीयबासी पवित्रा विकले बताइन् । उनले भनिन् प्रहरी आएर खोले । त्यहाँ पछि दुई महिना भयो खुलेको छैन । वडा कार्यालय नखुल्दा वडा कार्यालयबाट हुने बसाईसराई, जन्मदर्ता, सिफारिस, मृत्युदर्ता विवाह दर्ता,नागरिकता सिफारिस लगायत कुनै पनि काम नभएको शिक्षक महेन्द्रबहादुर शाहीले बताए ।
‘नयाँ भर्ना हुने उमेर पुगेका विद्यार्थीका जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न सकिएको छैन । कार्यालय खुलेपछि जन्मदर्ता बनाउँला भन्दा अभिभावकले दुई महिना विताए । हालसम्म कार्यालय बन्द रहेको छ, उनले थपे । वन्द रहेको कार्यालय खुलाउन गाउँपालिकाले समेतले कुनै पहल गरेको छैन ।
गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंह सोही वडाकी रैथाने बासिन्दा हुन् । गाउँपालिकाले कार्यालय सहयोगीको टुंगो नमिलाउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको रुपा विकले बताइन् । ‘के गर्ने हजुर हामी गरिबलाई जागिर खान कहाँ बाट ठुला बडाहरुले आफन्तलाई नै जागिर खुवाउँछन् । अहिले मेरो छोराले १२ पास गरेको छ । तर पनि कार्यालय सहयोगी बनाएनन् । परिक्षा दियो, अगाडी आफ्नो मान्छे नहुँदा जागिर खान गाह्रो छ’, उनले दुखेसो पोखिन् ।
सोही वडानं विगत दुई बर्षदेखि शेरबहादुर भण्डारीले कार्यालय सहयोगीको काम गर्दै आएको वडाअध्यक्ष पंखबहादुर शाहीले जानकारी दिए । उहाँको दुई बर्षदेखिको तलब दिन नै बाँकी छ । तर गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उपाध्यक्ष सुस्मिता सिंहले कार्यालय सहयोगी आफ्नो कार्यकर्ता राख्नको लागि नाम निकालेनन् । उपाध्यक्षले आफ्नो भतिजो नाता पर्नेलाई कार्यालय सहयोगी बनाइन् । समस्या समाधान लागि गाउँपालिकाले कुनै पनि पहल नगर्दा कार्यालय बन्द रहेको हो वडाअध्यक्ष शाहीले जानकारी दिए । तर पीडित शेरबहादुर भण्डारी भने आफुले विगत दुई बर्षदेखीको तलब नपाएको बताए । ‘म फरक पार्टीको कार्यकर्ता भनेर कार्यालय सहयोगीलाई हटाए । मैले विगत दुई बर्षदेखिको तलब पनि पाएको छैनन् ।’ दुई बर्षदेखि काम गरीरहेको व्याक्तिलाई हटाउनु गलत भएको भन्दै स्थानीयबासीले ताला लगाएको उनको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले भुपेन्द्र शाहीलाई आफ्नो कार्यकक्षको लागि काम गर्ने गरि पास गराएपनि वडाकार्यालयमा पठाएकोले विवाद भएको स्थानीयबासी बताउँछन् । यसमा दोषी जनप्रतिनिधी नै छन् । दुई बर्षदेखी बेतलबी काम गरेकालाई हटाएर आफन्तलाई राख्नु अझै लोकतन्त्रमा तानाशाही प्रवृति कायमै रहेको नेपाली काँगेसका सभापति नामबहादर शाहीले बताए । ‘सहमति जाउँ । काम गरेकालाई नहटाउ भन्दा गाउँपालिकाले अध्यक्ष धिरबहादुर शाही सत्ताको दम्बले कार्यकर्तालाई मात्र नियुक्ती दिएकाले समस्या आएको हो । यसको लागि छानविन समिति गठन गरेर पहिले देखी काम गर्दै आएका व्याक्तिलाई काम गर्ने वातावरण तयार गरे समस्या समाधान हुन्छ’, उनले भने ।
तर गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही भने, आफुहरुले कार्यालय सहयोगी बनाउन कसैलाई दबाब नदिएको बताए । ‘परिक्षाको आफ्नै निति नियम हुन्छ । त्यसमा कर्मचारी हुन्छ । हामीहरुको कुनै संलग्नता हुँदैन । निति विधि अनुसार को पास वा फेल त्यो मलाई जानकारी छैन । विधि र निति भएका परिक्षा कसरी राजनिति हुन्छ’, उनले भने । ‘केही व्याक्ति आफ्नो चरित्र हत्या गर्न लागेकाले यस्तो आरोप लगाएका हुन् । तर बन्द रहेको वडाकार्यालय खुलाउन आफुले पहल गरिरहेको केही दिनमा खुल्ला गरी कामकाज हुन्छ’, उनले भने ।






