त्रिविका आंशिक प्राध्यापकको तलब ८ हजार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आंशिक प्राध्यापकहरूको चरम शोषण भएको पाइएको छ । त्रिविले नेतृत्वदायी भूमिका निर्वाह नगर्दा विगत १५ वर्षदेखि आंशिक प्राध्यापकको चरम शोषण हुँदै आएको हो ।

आंशिक प्राध्यापकले आफूहरूले मासिक आठ हजार रुपैयाँमा ज्यालादारी काम गर्न बाध्य भएको गुनासो गरेका छन् । आंशिक प्राध्यापक संघका अनुसार देशभर झन्डै १ हजार ८ सय जना आंशिक प्राध्यापक कार्यरत छन् ।

विश्वविद्यालयले दैनिक ज्यालादारी र कम पैसामा ती प्राध्यापकलाई काममा लगाउने गरेको पाइएको छ । संघका उपाध्यक्ष युवराज लामिछानेका अनुसार समान कामको समान ज्याला मुख्य माग हो ।

उनले भने, ‘बराबर एउटै काम गर्दा एक जना स्थायी प्राध्यापकले मासिक ४३ हजार तलब पाउँछन् तर १५ वर्षदेखि मासिक आठ अजार रुपैयाँमा गर्न बाध्य छौं ।’ पटक पटक आश्वासन दिइए पनि त्रिभुवन विश्वविद्यालय माग सम्बोधन गर्न तत्पर नदेखिएको आंशिक प्राध्यापकको गुनासो छ ।

त्रिविका आंशिक प्राध्यापक बिहीबारदेखि विश्वविद्यालयको उपकुलपति कार्यालय परिसरमा धर्ना बसेका छन् । वर्षांैदेखि काम गरिरहेका आंशिक प्राध्यापकको बौद्धिक शोषण भएको उनीहरूको भनाइ छ । उनीहरूले एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने माग राखेका छन् । अहिले ८० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकले लिनुपर्ने बाध्यता छ । केही आंशिक प्राध्यापकले आफूले काम गरेअनुसारको पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् ।

८ मंसिर २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा मन्त्रिपरिषद्ले आंशिक प्राध्यापकलाई व्यवस्थापन गर्न विश्वविद्यालयमा दरबन्दी उपलब्ध गराउने र त्यसका लागि आवश्यक रकम छुट्याउने निर्णय गरेको थियो ।

३१ भदौ २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा त्रिवि र शिक्षा मन्त्रालयसँग संयुक्त रूपमा आंशिक प्राध्यापकहरूसँग सम्झौता भएको थियो । तर, त्यसको अहिलेसम्म कार्यान्वयन हुन नसकेको आंशिक प्राध्यापकहरू बताउँछन् । त्रिवि पदाधिकारीहरूले माग सम्बोधनतर्फ कुनै चासो नराखेको आंशिक प्राध्यापकहरूले बताएका छन् ।

आंशिक प्राध्यापकहरूले सरकार माग सम्बोधनतर्फ गम्भीर नभएपछि हाल ती प्राध्यापकले पठनपाठनमा सामेल भएका छैनन् । यस्तै स्नातक तहको परीक्षामा असहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 586 times, 1 visits today)

epaper

ताजा समाचार

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन