भोजपुर । भोजपरमा पहिलो पटक भुवादार जापानी तितेपातीको व्यवसायीक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोग विहिन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेतीको सुरुवात गरिएको हो ।
अरुण गाउँपालिका–४ चरम्वी -याङका दुई युवा मिलेर तितेपातिको व्यवसायीक खेती सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार माग समेत राम्रो भएकाले यो खेतीको सुरुवात गरेको उनिहरुले बताएका छन् । उनिहरुले संखुवासभाबाट विरुवा ल्याएर करिव २ रोपनी क्षेत्रफलमा करिव ८ हजार तितेपातीको खेती सुरु गरेका हुन् ।
अहिले दुई रोपनी क्षेत्रफलमा परिक्षणको रुपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिए । तितेपातीलाई प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिने कृषक राईले बताए । कच्चा पदार्थको रुपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा विक्री हुने उनको भनाइ छ ।
तितेपाती खेतीलाई राम्रो ढंगले आयआर्जनमा जोड्न सके बाँझो जमिन समेत प्रयोगमा आउने
कृषक राईले भने, ‘हामीले गत भदौ महिनाबाट व्यवसायिक खेती शुरु गरेका छौँ, हामीले ८ हजार विरुवा लगाएका छौँ, कच्चा पदार्थ प्रतिकेजी रु.५० देखि ६० रुपैयासम्ममा बिक्री हुन्छ ।’ डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको छ । बाँदर लगाएत अन्य बन्यजन्तुको कारण स्थानीय बसाई सर्दा धेरै जमिन बाँझिदै गएकोले तितेपातीको खेतीलाई विस्तार गर्न सके स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ ।
यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर बैकल्पिक खेतीको रुपमा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
प्रमुख घिमिरेले भने, ‘दुई जना युवाहरुले तितेपातीको व्यवसायिक खेती थाल्नु भएको रहेछ, आज हामीले यसको अनुगमन गरेका छौँ, अव यसको उत्पादन तथा बजारीकरण हेरे पश्चात अन्य ठाउँमा पनि पकेट क्षेत्र बनाएर विस्तार गर्ने हाम्रो योजना छ, जसले बाँझो जमिनलाई आयमूलक बनाउन सहयोग पुग्ने छ ।’
बाँदरलगायत अन्य समस्याका कारण धेरै जमिनहरु खेर गएको अवस्थामा तितेपाती वैकल्पिक खेती हुन सक्नेमा स्थानीय आशावादी देखिएका छन् । जिल्लामा पहिलो पटक खेती शुरु भएकोले आफू पनि यसको खेतीमा लाग्ने तयारीमा रहेको अर्का स्थानीयबासी इन्द्र्रबहादुर कार्कीले बताए ।
कार्कीले भने, ‘तितेपातीको खेती भइरहेको ठाउँमा गएर मैले पनि अनुगमन गरे, र यसको लगाउने तरिका तथा अन्य प्राविधिक ज्ञानको विषयमा पनि जानकारी लिए, वन कार्यालयले पनि चासोको रुपमा लिएकोले मैले पनि खेती विस्तार गर्ने तयारी गरेको छु, वास्तवमा यसले बाँझो जमिनलाई प्रयोगमा ल्याउने देखियो, एकदम उपयोगी पनि लाग्यो ।’
धेरै मानिसहरु अन्यत्र जाँदा खेती योग्य जमिन बाझिदै गएकाले यसको विस्तारमा सहयोग गर्ने वडा कार्यालयले जनाएको छ । तितेपाती खेतीलाई राम्रो ढंगले आयआर्जनमा जोड्न सके बाँझो जमिन समेत प्रयोगमा आउने कार्यालयको भनाइ छ । नमूनाको रुपमा खेती शुरु भएकोले यसको उत्पादन तथा बजारलाई हेरेर अन्य कृषकलाई समेत प्रोत्साहन गर्ने वडाध्यक्ष प्रेम कुमार राईले बताए ।
वडाध्यक्ष राईले भने, ‘विज्ञहरुको कुरा सुन्दा तितेपाती खेतीको राम्रो सम्भावना देखियो, धेरै लगानी पनि नचाहिने, खेर गइरहेका जमिनलाई प्रयोगमा ल्याउन सकिने भएकाले आगामी दिनमा यसको विस्तारमा कार्यालयको तर्फबाट पनि योजनाबद्ध रुपमा काम गछौँ ।’
तितेपातीलाई बाँदरले समेत क्षति नगर्ने तथा आम्दानी लिन सकिने भएपछि बैकल्पिक खेतीको रुपमा विस्तार गर्न सके यसले स्थानीयसंगै राज्यलाई समेत टेवा पुग्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।






