काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको जनाएको छ । अध्यक्ष पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानले नगरेको भन्दै सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भुमरीमा फसेको जनाएको छ ।
बैठकमा अध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा समेतको उपस्थिति रहेको थियो । बैठकले प्रजातान्त्रिक मूल्य मान्यतालाई गंभीर क्षति पु¥याएको भन्दै उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामि निर्णयको विरोध र भत्सर्ना गरेको जनाएको छ ।
मन्त्रिपरिषदको दुरासयपूर्ण र स्वेच्छाचारी निर्णयको पक्षमा उभिएर राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई फेरि एकपटक विवादास्पद तुल्याएको भन्दै प्रतिनिधिसभा विघटनको पछिल्लो घटनाक्रमले २०६२/६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको जनाएको छ ।
परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमिकमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीति अनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्वद्ध सबै पक्षसंग राप्रपाले अपिल गरेको छ ।






