बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा सडक स्तरोन्नती, ढलान तथा नयाँ ट्रयाक खोल्ने काम धमाधम सुरु भएको छ । वडा कार्यालय भित्र रहेको मुल सडकलाई बाह्रै महिना संचालनमा आउन सक्ने गरी सडक स्तरोन्नतीको काम थालेको वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।
गाउँपालिका तथा वडा कार्यालयले सडक संरचना, ढलान तथा नयाँ ट्रयाक खोल्नको लागि ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही रकम अन्तर्गत रहेको अहिले धम्जा हिलेको जालमति घुम्तीमा ५५ मिटर सडक ढलान गरिएको मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर श्रीसले जानकारी दिए ।
जालमति घुम्टीमा ६ मिटर र अन्य ठाउँमा साढे ४ मिटर सडक ढलान गरिएको छ । वडा कार्यालयले मंगलेखोला, वडा कार्यालय हुँदै म्याग्दी जोड्ने सडक खण्ड अन्तर्गतको अन्तिम विन्दु १२० मिटर नयाँ ट्याक खुला गरेर म्याग्दीसँग सडक संजाल विस्तार गरेको छ । उक्त सडक म्याग्दीको भकिम्लीसँग जोडिएको वडाध्यक्ष श्रीसको भनाई छ । ‘दुई जिल्ला जोड्ने सडक खण्डले पर्यटकीय गतिविधि तथा आर्थिक क्रियाकलपमा सहयोगी बन्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष श्रीसले भने, ‘आगमी दिनमा दुई जिल्ला जोड्न सडकलाई स्तरोन्नती गरी आर्थिक करिडोर बनाउने योजना छ ।’
वडा कार्यालय अन्तर्गतको मुल तथा शाखा सडकहरुलाई मजबुद बनाउन गाउँपालिकाको नीति अन्तर्गत नै सडक संरचनालाई पनि ध्यानमा राखिएको छ । चालु आर्थिक वर्षमा वडाभित्रका विभिन्न सडकमा ४६३ घना मिटर ग्याविन जाली भर्नको लागि २३ लाख ७५ हजार, ६६ घनामिटर ढुङ्गा सोलिङ्गको लागि ८ लाख, पहरो कटिङ्ग, हिले डाँडा र म्याग्दी जोड्ने नयाँ सडकको लागि ९ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष प्रेम श्रीसको भनाई छ ।
नयाँ सडक संजाल विस्तार र ढलानको काम सम्पन्न भएको छ भने सडक संरचना अन्तर्गत करिब एक सय घना मिटर ग्याविन जाली भर्ने काम बाँकी रहेको छ । ‘सबै सडकलाई बलियो बनाउने अभियानमा जुटेका छौँ’, वडाध्यक्ष श्रीसले भने, ‘वडाभित्र बाहै्र महिना सवारी चल्न सक्ने गरी काम हुन्छ ।’ जनश्रमदान सहित सडक मर्मत, विस्तार र सुधारको लागि कुल ४४ लाख रुपैयाँ लागत स्टिमेट रहेको छ ।