मोफसलमा अनाथालयको आवश्यकता

राजधानी सहर काठमाडौंमा धेरै अनाथालय खुलेका र प्रयोगमा आइरहेका भए पनि काठमाडौंबाहिरका मोफसलमा अनाथालय खुलेको र तिनले प्रभावकारी काम गरेको भने देखिएको छैन । छरिएर रहेका बस्तीहरू भएकाले पनि त्यहाँ ध्यान पुग्न नसकिरहेको हुन सक्छ ।

तथापि, ग्रामीण इलाकामा वृद्धाश्रम र अनाथालयको कुरा र धारणा जनताका माझमा स्पष्ट पनि भइसकेको छैन । सानोतिनो भए पनि खेती किसानीमा रहने, झुप्रो घर हुने र गाईबाख्रा पालेर निर्वाहमुखी जीवन यापन गरिने भएकाले पनि घरमै रोजगारको व्यवस्था देखिन्छ । त्यसो त अध्ययन अध्यापन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र अन्य सेवासुविधाका कुरा यी किसानका लागि तपसिलमा पर्ने गरेको देखिन्छ । अनाथहरूमाथि राम्रो व्यवहार हुन सकेको छ÷छैन त्यो त स्पष्ट रूपमा सार्वजनिक अध्ययन र अनुसन्धान पनि भएको देखिँदैन । तर, अनाथहरू नजिकका आफन्तको घरमा आश्रय लिएर बाँचिरहेका भने प्रशस्तै पाइन्छन् । उनीहरूले आश्रय लिएको घरमा परिवारका सदस्यमा उनीहरूको गणना गर्ने गरिएको हुन्छ । त्यहाँ एक त अनाथालय पनि हुँदैन, अर्को कुरा अनाथालयमा बच्चाबच्ची राख्नु सामाजिक लज्जाको विषय मानिन्छ । यसले पनि मोफसलमा अनाथालय देख्न पाइँदैन ।

यसको अर्थ ग्रामीण समाजमा अनाथ रहेका हुँदैनन् भन्ने होइन । साथै, अनाथको राम्रो गरी हेरचाह र स्याहारसुसार भएको छ भन्ने पनि देखिँदैन । यसैको कारणले पनि हुन सक्छ, गाउँका नजिक रहेका सहरबजार तथा काठमाडौंमै पनि गाउँतिरबाट आएका अनाथको भिड लाग्ने गरेको छ । काठमाडौं सहरमा यसको सबैभन्दा बढी मार देखिएको छ । यहाँ धेरै अनाथालय पनि खोलिएका र सञ्चालनमा ल्याइएका छन् । काठमाडौंजस्ता सहरमा खोलिएका अनाथालय दुई उद्देश्य र प्रयोजनका लागि सञ्चालनमा ल्याइएको देखिन्छ । एउटा ती अनाथालयको उद्धार र अर्को विदेशी तथा स्वदेशी सहयोगको सदुपयोग । यसका लागि यी अनाथालय हाल संख्यात्मक रूपमा वृद्धि पनि हुँदै गइरहेका छन् । कतिपय अनाथालय विशुद्ध व्यवसायमुखीजस्ता देखिन आएकाले अन्य सबै अनाथालयले दिइरहेको सेवा, सुविधा र मानवीय धर्ममाथि आँच आउने र नैतिक संकट पैदा हुने पनि गरेको देखिएको छ । तथापि, धेरै अनाथालय सेवा र मानवीयतामा नै आबद्ध तथा प्रतिबद्ध देखिएका छन् । क्रमशः बढ्दै गएको सहरीकरणको समस्या, पुरानो संस्कृति र मूल्यमान्यतामा आधारित सामाजिक व्यवस्थामा आउँदै गरेको स्खलन, सामाजिक विकासको संक्रमण काल र देखासिकी तथा अनावश्यक स्वच्छन्दताका कारण अनाथ बालबालिकाको संख्या बढ्दै गइरहेको देखिन्छ ।

यो सामाजिक संक्रमणको सिकार सहरी क्षेत्र निकै बढी हुँदै गएको छ भने ग्रामीण क्षेत्र पनि यसको आक्रामकताबाट अछुतो भने रहन सकेको छैन । ग्रामीण क्षेत्रमा अनाथहरूले अबका दिनमा आफन्तकहाँ शरण लिएर बाँच्न पाउने आधार र आशा पनि गुमाउँदै गएका छन् । वैदेशिक रोजगारको सिलसिला र प्रचलनले पनि अनाथको संरक्षणको आधार हराउँदै जाने वातावरण बनाएको छ । अर्कोतिर मानिस सामाजिकभन्दा पनि बढी व्यक्तिगत र स्वार्थका कुरामा रमाउँदै जान थालेका छन् । यसले पनि अनाथका लागि पहिलेको जस्तो सहज, सौहार्द र संरक्षणको वातावरणमा ह्रास ल्याउँदै गएको छ । बदलिँदो सामाजिक संरचना, सोच र व्यवहारमा हुँदै गएको परिवर्तनका कारण मोफसलमा पनि अनाथालयको जरुरी हुन गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 567 times, 1 visits today)

epaper

ताजा समाचार

पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा