रसायनिक मलको समस्या समाधान गर्छु : मन्त्री अर्याल

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताइन् । आइतबार कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा पदभार ग्रहण गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् । मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५/२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिने समेत बताइन् । कृषि मन्त्री अर्यालले, ‘वर्षौदेखी किसानले भोग्दै आएको रसायनिक मलको समस्यालाई सदाका लागि हल गर्न दृढ छु । आगामी आर्थिक वर्षदेखी रसायनीक मलको समस्या समाधान गरिनेछ । ‘त्यसका लागि सातैवटा प्रदेशमा पच्चिस/पच्चिस हजार मेट्रिक टन क्षमताको मल भण्डारणको व्यवस्था गरिनेछ ।’

कृषिमन्त्री अर्यालले वास्तविक कृषकको सूचिकरण गरी कृषक परिचयपत्र वितरण गर्दै कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत लैजाने कार्यको यही फागुनबाट शुरुआत गरिने बताइन् । मन्त्री अर्यालले यसबाट वास्तिविक किसानले ठूलो राहत प्राप्त गर्ने अपेक्षा लिइएको समेत बताइन् ।

मन्त्री अर्यालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई उद्देश्यअनुसार र प्रभावकारी ढंगले परिमार्जन गरी परिणाममुखी कार्यान्वयनमा ल्याइने बताइन् । उनले कृषकबाट उत्पादित वस्तुले उचित बजार नपाएको र पाएपनी उचित मूल्य नपाएको व्यापक रुपमा गुनासो आउने गरेको भन्दै उहाँले यसको समाधान गर्नका निम्ती पहल गरिने बताइन् । उनले भनिन्, ‘हाम्रा बजारलाई संघीय बजार, प्रादेशिक बजार र स्थानीय बजारमा बर्गीकरण गरी यसमा उत्पादक, ‘मिडल म्यान’ र उपभोक्ताको आम हितमा काम गर्नका लागि आवश्यक कार्यको आजैबाट शुरुआत गर्न निर्देशन दिन्छु । साथै कृषि तथा पशुपन्छीका बजार हेर्नका लागि छुट्टै निकायको व्यवस्था मिलाइनेछ ।’

मन्त्री अर्यालले सरकारबाट न्यूनतम समर्थन मूल्य तोकिएका सबै बालिनाली, वस्तु जस्तै ः धान, गहुँ, मकै, दुध, उँखु बिक्रि नभएमा सरकारले जिम्मा लिनेगरी आवश्यक प्रावधानसहित यसै आर्थिक वर्षमा धानको भण्डारणका लागि धान उत्पादन हुने तराई र भित्री मधेशका जिल्लामा धान गोदाम भण्डारण स्थापना गरिने बताइन् ।

मन्त्री अर्यालले नगदे बालीको रुपमा रहेको उँखु बाली उत्पादनमा संलग्न आम उखु किसानहरुको ठूूलो गुनासो र समस्यालाई निराकरण गर्न दिर्घकालिन योजना बनाई अबिलम्ब र ठोस ढंगले कार्यान्वयनमा ल्याइने बताइन् । हाल भइरहेको किसान आन्दोलनको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र गृह मन्त्रालयसँग तत्काल समन्वय गरी समाधान गर्न पहल थालिने कृषि मन्त्री अर्यालले बताइन् ।

आम उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यान दिँदै सम्भाव्यता र कृषकको अभिरुचीका आधारमा प्राङ्गारिक खेती प्रणालीलाई विशेष प्राथमिकता दिएर कार्यक्रम कार्यान्वयनमा ल्याईने उनको भनाई थियो ।

मन्त्री अर्यालले देशमा आलु, प्याज र कागती मात्रै प्रति वर्ष करिब २० अर्बको आयात भइरहेको अवस्थामा देशभित्रै यी बालिहरुको आवश्यकता अनुसार उत्पादन गरी आत्मनिर्भर बन्न विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने समेत बताइन् । उनले भनिन्, ‘दुध, माछा, मासु र अण्डामा हामी आत्मनिर्भरको बाटोमा छौ । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै पूर्ण आत्मनिर्भर रहेको घोषणा गरिने ।’ उनले कृषि अनुसन्धान, कृषि शिक्षा र कृषि प्रसारलाई आवद्ध गरी कृषकको आवश्यकता र चाहनाअनुसार कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिने बताइन् । उनले साथै वोर्ड, संस्थान र समितिलाई उत्पादनमूलक र उद्देश्यमूलक बनाउन आवश्यक कदम चालिने बताइन् ।

उनले सरकारले अघी सारेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न राष्ट्रसेवक कर्मचारीहरुको योगदान महत्वपूर्ण हुने बताइन् । उनले कुनैपनी कर्मचारीलाई आस्थाका आधारमा, कँहीकतै भेदभाव नगरी उसको कामप्रतिको जिम्मेवारी र लगनशिलताका आधारमा मूल्यांकन गरिने बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता