थ्री स्टार सेमिफाइनलमा

धनगढी । डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार चौथो संस्करणको नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा सिमराको नवजनजागृति क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

पहिलो चरणमा वाई पाएर सिधै क्वार्टरफाइनल खेलेको थ्री स्टारको जितमा संजोक राई र आशिष राईले गोल गरे । दुवै गोल खेलको अन्त्यतिर सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै नवजनजागृतिलाई दबाबमा राखेको थ्री स्टारले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

८०औं मिनेटमा निशान खड्काको पासमा संजोकले हेडमार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । त्यसपछि ८१औं मिनेटमा आशिष राईले गोल गर्दै थ्री
स्टारको जित सुनिश्चित गरे । आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे । थ्री स्टारका कप्तान विक्रम लामा खेलको म्यान अफ दि म्याच चुनिए । उनले नगद १० हजारसहित ट्रफी पाए ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल निस्कन गाह्रो भए पनि खेलको अन्त्यतिर पाएको मौका सदुपयोग हुँदा जित हात पार्न सकिएको बताए । ‘हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यो । त्यही भएर हामीलाई स्कोर गर्न गाह्रो भयो ।’ प्रशिक्षक केसीले भने, ‘लामो यात्रा गरेर आएका कारण पनि समस्या भयो । अवको खेलमा अझै राम्रो गर्ने प्रयास हुनेछ ।’

नवजनजागृतिका प्रशिक्षक सोनु क्षत्रीले पराजित भए पनि ‘ए’ डिभिजन टोलीलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट रहेको बताए । ‘अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च थियो । थ्री स्टारसँग खेल्दा केही तालमेल नमिलेको जस्तो देखियो । गोल गर्न सकिएन ।’ प्रशिक्षक क्षेत्रीले भने, ‘अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं । पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौं ।’ अब थ्री स्टारले फाइनल प्रवेशका लागि यती हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रूपन्देहीबीचको विजेतासँग खेल्नेछ । बिहीबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्नेछन् ।

२० फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई बेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन