दैलेख । श्रीमतीको हत्या आरोपमा दैलेखमा एक जनलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको छ । पत्नी सुनिता विकको हत्याका आरोपित गुराँस गाउँपालिका–१ खड्कवाडाका २१ वर्षीय प्रेमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
सुनिता विकको शव डुङ्गेश्वर गाउँपालिका–६ लटालीको जंगलमा मृत फेलापरेको थियो । प्रहरी अनुसन्धानपछि पेश भएको कर्तव्यज्यान मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कारागार पठाएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानले जानकारी दिए ।
माइतीघरमा बस्दै आएकी २१ वर्षीया सुनिता बाख्रा चराउन गएको बेला कात्तिक १७ मा गुप्ताङ्गमा काठ घोच्नुसँगै घाँटी थिचेर हत्या गरिएको अवस्थामा शब भेटिएको थियो । लटालीस्थित भैंसी बान्ने जंगलमा मृत फेला परेकी सुनिताको हत्या भएकै दिन साँझ ५ बजे तल्लो डुंगेश्वरबाट जीपमा चढी कालिकाकोटको मान्म बजार पुगेका आरोपित प्रेमबहादुर बिकलाई दैलेख प्रहरीले लास भेटिएकै दिन कालिकोट प्रहरीको सहायतामा मान्मबाट पक्राउ गरेको थियो । अर्धनग्न अवस्थामा हत्या गरिएको शव फेला पर्नु, प्रेमबहादुरकै दाइले भाइ भारत गएका छन् भनी स्वयम् ढाँटेको कारण सुनिताका श्रीमान माथि शंका राखी अनुसन्धान गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए।
साँझपख गाईबस्तु फर्किए पनि गोठाला गएकी सुनिता नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएकी थिइन् । ०७६ चैतमा गुराँस गाउँपालिका–१ खड्कवाडा सेफ्टीका प्रेमबहादुर बिकसँग विवाह बन्धनमा बाँधिएकी सुनिताको २०७७ असारमा श्रीमानसँग विवाद भएपछि माइतीको घरमा बस्दै आएकी थिइन् । हत्या गर्नुअघि आरोपितले काठ वा अरु कुनै अप्राकृतिक चीज बस्तु घुसाएर गुप्ताङ्गबाट रगत बगेको अवस्थामा लास फेला परेको कारण कर्तव्यज्यान र बलात्कार कसुरमा हुने आजीवन कारावासको सजाय माग दाबी गरी जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पेश गरेको थियो ।
कात्तिक १८ गते प्रहरी नियन्त्रणमा राखिएका आरोपित प्रेमबहादुर बिकको क्रियाकलाप र अभिव्यक्ति शंकास्पद रहेकोले सुरुमा जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा र मंसिर १६ गतेदेखि अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि थुनामा राखिएको थियो। करिब दुई महिना हिरासतमा राखी प्रहरीले गरेको अनुसन्धान र घटना प्रकृतिका प्रमाणका आधारमा कर्तव्य ज्यान र बलात्कार कसुरमा हुने आजीवन कारावासको सजाय मागदावी गरेको सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले बताए ।






