काठमाडौं । सेयर बजार फेरि उच्च विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार बजार नाप्ने नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको हो । नेप्से सूचक बिहीबार २५.२१ अंकले बढेर २०८७.२८ विन्दुमा बन्द भएको छ । जुन हालसम्मकै उच्च हो ।
केही दिन सुस्त रहेको बजारमा बुधबारदेखि पुनः रौनकता आउन सुरु भएको छ । खरिदबिक्री रकममा पनि बृद्धि हुन थालेको छ । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र बैंक ब्याजदर पनि सस्तो भएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन पनि घटाएकाले बजार सकारात्मक भएको विश्लेषकको भनाई छ ।
नेप्सेमा बिहीबार २०७ कम्पनीको ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कुल १ करोड १४ लाख ६४ हजार २०० कित्ता सेयर किनबेच भएका छन् । निर्जीवन बिमा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि भएको छ । सबैभन्दा धेरै ट्रेडिङ समूह १८७.७३ अंकले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ सर्किट लागेर बढेको छ । साल्ट ट्रेडिङको भाउ १०५ ले बढेको हो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अघि आएको छ । यसको ४६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।






