नेकपाको अहमले संसद विघटन भएको हो : सह-महामन्त्री थापा

इटहरी । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाले दुई तिहाईको नेकपा सरकारका केही व्यक्तिहरुको अहम्ले गर्दा संसद विघटन भएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले शुक्रबार इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘राष्ट्रपतिको भूमिकामाथि यतिबेला प्रश्न चिह्न खडा भएको छ,’ उनले भने, ‘संसद विघटन हुनु भनेको संविधानको बलात्कार हुनु हो, नेकपाको अहम्ले गर्दा प्रतिनिधिसभा भंग भएको हो ।’ प्रदेशमा अहिले कांग्रेस बाहेक सरकार बन्न नसक्ने स्थिति भएपनि कांग्रेसले कसलाई सघाउने भन्ने विषयमा अन्यौल नै रहेको थापाले बताए ।

कार्यक्रममा प्रदेश १ का संसदीय दलका नेता तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोईरालाले पछिल्लो समय कांग्रेस सरकारमा जाने कुराहरु सार्वजनिक भईरहँदा आँफूहरु कुनै पनि हालतमा सरकारमा नजाने उल्लेख गरे । ‘नेकपाको दुईतिहाईँको सरकारले सत्ता फोहरको डंगुरमा डुबेको छ, तपाईँ फोहरको डंगुरमा गएर बस्न सक्नुहुन्छ ?,’ उनले भने, ‘सरकारमा गएर के हुन्छ ? कांग्रेस पदका लागि मात्रै जाने पार्टी होइन ।’ संघीयता जोगाउनका निम्ति कांग्रेसले भूमिका खेल्ने उनको तर्क थियो । उनले भने, ‘वार्ताको क्रम जारी छ, हामीले कसैलाई वचन दिएका छैनौँ । केन्द्रले स्पष्ट निर्देशन दिएपछि निर्णय लिन्छौँ ।’

प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य मनोहर श्रेष्ठ, प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी, नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित