काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुयाउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको भएको बताउदै आपत्ति जनाएका छन् ।
राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानुन र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोशिस भईरहेको बताउँदै राजनीतिक दल र राजनीतिक समुहहरुलाई जिम्मेवार हुन उनले अनुरोध गरे ।
राजनीतिक एजेन्डाबिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भईरहेको उनको भनाई थियो ।
“विनाराजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन,” मन्त्री गुरुङले राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको वताए ।
अब मुलुक निर्वाचनमा गैरहेको वताउदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वान गरे ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिए ।
सरकारलाई कतिपयले काम चलाउ भन्ने गरिएको सन्दर्भमा उनले यो सरकारले संविधान अनुसार पूर्णअधिकारसहितको कार्य गरिरहेको स्पष्ट पारे । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको काम कार्वाहीप्रति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरे ।






