जुम्ला । कर्णालीका हिमाली जिल्लामा वर्षा सँगै हिमपात भएको छ । हुम्ला,मुगु,डोल्पा सँगै जुम्लामा पनि सोमबार बिहान ३ बजेबाट करिव ६ बजे सम्म लगातार हिमपात भएको हो । आइतवार बेलुका बाट बिहान ३ बजेसम्म पानी परेको थियो । यो वर्ष जुम्लामा दोस्रो पटक हिमपात भएको हो । गत मसिर २ गते हिउँपरेको थियो । वर्षा संगै हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । ‘हिमपात भएपछि गहुँ, जौं लगायत हिउँदेबाली सप्रने आशा पलाएको छ ।’ तातोपानी ७ का कृषक हरि कुँवरले भने । ओखर, स्याउ र आरु जस्ता विरुवाका लागि पनि यसपटकको हिमपात लाभदायक हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले बताए ।
हिँउदको समयमा पटक पटक हिमपात र वर्षा हुनु कृषकका लागि फाईदा हुने भण्डारिले बताए । ‘बेला बेला हिमपात भयो भने स्याउ,ओखर र हिँउदेबाली को लागी सिंचाई पुग्छ, तर पर्याप्त वर्षा र हिमपात हुनु पर्छ ।’ उनले भने । स्याउ काँटछाट र बगैंचा व्यवस्थापन भइरहेका बेला वर्षा सँगै हिमपात हुँदा हामी कृषक हर्षित भएका र्छौं ।’ हिमा गाउँपालिका वडा नम्वर ६ का स्थानीय छत्र बहादुर अधिकारिले भने । गत वर्ष स्याउ उत्पादनमा भारि गिरावट आएको सुनाउदै उनले यो वर्ष उत्पादन बढ्ने आशा पलाएको बताए । जुम्ला सदरमुकाम खलंगामा कमै हिमपात भएपनि गाउँ बस्ति र लेकाली क्षेत्रमा बढि हिउँपर्दा भडिगोठालालाई भने सकस भएको छ ।
लगातार हिमपात भएपछि लेकमा चराउन लगिएका भेडा बाख्रा बनमा हिउँले थुनिएको सिंजा गाउँपालिका वडा नम्वर ६ रुघाका भेडिगोठाला जोख बहादुर शाहीले बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्ला नेपालमा सबैभन्दा बढी भेडा पालन हुने जिल्लामा पर्दछ । बन क्षेत्र हिउँले ढाकिएपछि भेडाबाख्रालाई चरण क्षेत्रको अभाव भएको तातोपानी ७ सर्मिका भेडा कृषक कृष्ण खड्काले बताए ।






