तयार भयो ११ र १२ कक्षामा सिनेमाको पाठ्यक्रम

काठमाडौं । चलचित्रलाई आगामी वर्षबाट ११ र १२ कक्षाको कोर्समा राखिने भएको छ । चलचित्र विकास बोर्ड र उच्च शिक्षा परिषद्को पाठयक्रम विकास केन्द्रले कक्षा ११ र १२ को लागि तयार गरिएको पाठ्यक्रममाथि आइतबार राजधानीमा बहस भएको छ । कक्षा ११ र १२ का लागि ८० घन्टाको पाठ्यक्रम तयार गरिएको बहसको क्रममा जानकारी गराइयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पटकपटकको छलफल र अभ्यासपछि ११ र १२ कक्षाका लागि सिनेमासम्बन्धी प्रारम्भिक पाठ्यक्रम तयार गरिएको बताए ।

आफूहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा पढाइ हुँदै आएका सिनेमाको पाठ्यक्रम हेरेर सोहीअनुसारको पाठ्यक्रम अहिले तयार गरेको पनि अध्यक्ष दाहालले बताए । दाहालका अनुसार अहिले चलचित्र विकास बोर्डले काठमाडौं र मोफसलका एक दर्जनभन्दा बढी उच्च माविलाई चलचित्रसम्बन्धी अध्ययन गराउनका लागि आवश्यक उपकरण सहयोग गरिसकेको छ ।

उनीहरूलगायत अरू पनि थुप्रै उच्च माविले चलचित्र पढाउने चासो देखाएकाले आफूहरूले धमाधम पाठ्यक्रम निर्माण गरिरहेको पनि अध्यक्ष दाहालले प्रकास पारे । आइतबार आयोजना गरिएको छलफल कार्यक्रमबाट प्राप्त सुझावहरूलाई समावेश गरेर अहिलेको पाठ्यक्रममा परिमार्जन गर्ने पनि दाहालले बताए । नेपाली समाजमा सिनेमाको संस्कृति विकास गर्नका लागि पनि आफूहरूले यो कोर्स तयार गरेर लागू गर्न लागेको पनि उनले जानकारी गराए ।

आइतबार सम्पन्न छलफलमा चलचित्रकर्मीहरूले ११ र १२ कक्षाको पाठ्यक्रम निकै गहन भएको प्रतिक्रिया दिए । ११ र १२ कक्षाको अहिले तयार गर्न लागिएको पाठ्यक्रम स्नातक तहको जस्तै गहन भएको उनीहरूले बताए । अग्रज कलाकार नीर शाहले अहिलेको पाठ्यक्रम निकै गहन भएकाले यसलाई केही हलुका बनाउनुपर्ने बताए । मावि तहमा यसरी चलचित्रलाई समावेश गर्नु आफूहरूका लागि खुसीको खबर भएको पनि अग्रज अभिनेता शाहले बताए ।

अग्रज नाट्यकर्मी तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले पनि सो पाठ्यक्रमको खुलेर प्रशंसा गरे । अहिले कतिपय नयाँ विषयहरू स्कुल तथा कलेजमा पढाइ भइरहेको बेला मावि तहमा चलचित्रको छुट्टै पाठ्यक्रम समावेश गरिनु प्रशंसनीय कार्य भएको पनि शर्माले बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि ११ र १२ कक्षामा चलचित्रको छुट्टै पाठ्यक्रम समावेश गरिनु चलचित्र क्षेत्रकै लागि गर्वको कुरा भएको बताए । उनले पाठ्यक्रम निर्माण गर्दा सिद्धान्तका कुरा धेरै पढाउनुभन्दा पनि प्रयोगात्मक कक्षा बढाउनुपर्ने सुझाव दिए । नेपालमा स्नातक तहमा चलचित्रसम्बन्धी दुई वटा कलेज सञ्चालन भइरहेको बेला माविमा पनि चलचित्रसम्बन्धी छुट्टै पाठ्यक्रम राखिनुले दक्ष सिनेकर्मी यही उत्पादन हुनेमा आफूहरू विश्वस्त रहेको अधिकारीले बताए ।

सो कार्यक्रम अग्रज संगीतकार दीपक जंगम, अग्रज गीतकार कृष्णहरि बराल, फिल्म प्रध्यापक लक्ष्मीनाथ शर्मा, शिशिर उप्रेती, आलोक तिवारी, सिनेकर्मी तथा सञ्चारकर्मी फुलमान बल, अरुणदेव जोशी, डा. सचिन घिमिरे, सिनेकर्मी रामकृष्ण पोखरेललगायतले पाठ्यक्रमका ’boutमा सुझाव दिए ।

नयाँ पाठ्यक्रम विभिन्न आठ खण्डमा विभाजन गरिएको छ । जसअन्तर्गत सिनेमाको संक्षिप्त इतिहास, सिनेमाको आधारभूत सिद्धान्त, सिनेमा निर्माणमा विविध भूमिका र काम कर्तव्यहरू, सिनेमा निर्माणको कार्यगति, नेपाली सिनेमाको संक्षिप्त इतिहास, वृत्तचित्र र फिल्म निर्माणको परिचय, प्रोडक्सन, सिनेक्षेत्रका शब्दहरू र छायांकन गरी आठ खण्डमा विभिन्न शीर्षक राखिएका छन् । पाठ्यक्रममा विश्व सिनेमाको इतिहासदेखि नेपाली चलचित्रको इतिहाससम्मलाई समेटिएको छ ।

बहसका क्रममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत खिलनाथ धमलाले आफूहरूले तयार गरेको ११ र १२ कक्षाको सिनेमासम्बन्धी पाठ्यक्रम’bout विस्तृत जानकारी गराए । उनले सो पाठ्यक्रमको प्रक्रिया तथा प्रयोजन’bout पनि सो क्रममा प्रकाश पारे ।

चलचित्रकर्मी तथा विज्ञहरूले दिएको सुझावका आधारमा आफूहरूले अहिलेको पाठ्यक्रममा केही फेरबदल गरेर कार्यन्वयनमा ल्याउने पनि उनले सो कार्यक्रममा बताए । पाठ्यक्रम विकास केन्द्रका निर्देशक बद्रीनाथ तिमिल्सिनाले विभिन्न विद्यालय चलचित्रसम्बन्धी पढाइमा इच्छुक भएकाले आफूहरूले पाठ्यक्रम बनाएको बताए । यसलाई चाँडै स्वीकृत गरेर लागू गर्ने पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स