थारु बस्तीमा छायो माघीको रौनक

बर्दिया । थारु समुदायमा यतीखेर माघीको रौनक छाएको छ । मकर संक्रान्ती पर्वलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । माघी थारु समुदायको दसैँपछिको महत्वपूर्ण पर्व हो । माघी पर्वका कारण अहिले पश्चिम तराईका बाँके, बर्दिया, दाङ्ग,कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघी पर्वको उल्लास छाएको छ ।

थारु बस्तीमा यतीखेर निकै चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । दसैँ तिहारमा घर नआएका व्यक्तिहरु पनि माघीमा घर आउने गर्छन् ।

माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमासमेत मान्ने गर्छन् । यो पर्वलाई थारु समुदायले बरका तेउहार ( ठूलो पर्व )का रुपमा मनाउछन् । बासगढी नगरपालिका–४ उत्तरभकारीका रामलखन थारु भन्छन् ‘ माघी हाम्रो लागि नयाँ बर्ष हो । माघीलाई हामी ठूलो पर्वको रुपमा मनाउँछौ । वर्ष भरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन् । ’

माघीको अवसरमा थारु संस्कृती झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारुबस्तीमा युवायवतीहरु माघीमा मघौटा, सखिया र हुरदंगाा नाच नाच्ने गर्छन् । सामुदायिक विद्यालयका एक शिक्षक सन्तराम चौधरी भन्छन्,‘ माघी थारु समुदायको विशेष पर्व हो । माघीकै अवसर पारेर गाउँघरमा थारु संस्कृतीको जर्गेना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् । ’ माघे सक्रान्तीको अघिल्लो दिन अर्थात पुस २९ गते थारु समुदायमा जीता मार्ने ( सामुहिकरुपमा सुँगुर, बंगुर मारेर खाने) गरिन्छ ।

थारुहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरु सबै आआफनो काममा लाग्छन् । घर छुट्टीने, खोतबाली लगाउने निर्णय पछि माघीमै गरिन्छ । यतीखेर थारु बस्तीका चोकचोकमा युवाहरुको जमघट बढेको छ । बाहिरबाट कमाएर आएकाहरु आफना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन् । थारु बस्तीको घरघरमा माघी धुमधामले मनाइँदै छ ।

माघे संक्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बाल्ने प्रचलन छ । थारु समुदायमा माघे संक्रान्तीको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कृतन गनर्,े डफ (एक प्रकारको डम्फु) बजाउने चलन छ । र माघे संक्रान्तीका दिन विहानै नजीकैको खोला नदिमा गई नुहाउँने गरिन्छ । यो दिन खोला नदीमा गइ नुहाउँदा वर्ष भरिको पाप पखालिने जन विश्वास छ । नुहाइवरी आफुभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आर्शीवाद लिने र साथीभाइसँग अंकमाल गरि माघीको शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।

यो पर्वमा थारुजातीले विशेष परिकारको रुपमा ढिकरी(चामलको पिठोबाट बनाइने परिकार),माछा, घोघी, सँुगर वा वंगुरको मासु र जाँड खाने र खुवाउने चलन छ ।

यसैगरी माघीमा गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर– मैटहवा(गाउँको अगुवा),चौकिदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतीलो उदाहारण पनि हो । माघीमा चयन गरिने अगुवाले वर्ष दिन भरी गाउँको विकास निमार्ण, सुरक्षा, सुचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।

मकर सक्रान्ती तथा माघी पर्वको अवसरमा जिल्लाको ठाकुरद्धारामा परम्परागत माघी मेला लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरस महामारीको कारण मेला नलाग्ने भएको छ । ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिरमा मकर संक्रान्तिका दिन विशेष पूजाआजा हुने गर्छ । ठाकुरबाबा मन्दिरको दर्शनका लागि बाँके, बर्दिया, सर्खेत, कैलाली र सिमावर्ती भारतिय गाउँबाट पनि दर्शनार्थीहरु आउने गर्छन । माघीको दिन ठाकुरबाबाको दर्शन गरेका मनोकामना पुरा हुने धार्मिक जनविश्वास रहि आएको छ । विशेष गरि निसन्तान दम्पतीले ठाकुरबाबाको दर्शन गरेमा सन्तान लाभ हुने विश्वास गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी