काठमाडौं । नेपालका सिनेमा घरमा शुक्रबारबाट नयाँ चलचित्र प्रदर्शन सुरु भएसँगै अन्य चलचित्रको पनि प्रदर्शन मिति तय गरिएको छ । यसैक्रममा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘मनसँग मन’को गीत नयाँ गीत रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ ।
यो चलचित्र आगामी २७ चैतबाट देशव्यापी रिलिज गरिने घोषणा बिहीबार निर्माण पक्षले गरेको छ । आगामी नयाँ वर्षको उपलक्ष्यमा यो चलचित्र रिलिज गर्न लागिएको यसका निर्माता अरुण तामाङले बताएका छन् ।
बिहीबार संक्रान्तिको अवसर पारेर यो चलचित्रको ‘मेरो त भाग्य…’ गीतको भिडियो रिलिज गरिएको हो । गीतमा डेभिड शंकर र भावना थापाको स्वर, विपिन किरणको शब्द र दीपक शर्माको संगीत रहेको छ ।
रामजी लामिछानेको कोरियोग्राफी छ । जसमा अभिेनता पुष्प र वर्षासँगै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको अभिनय छ । सौरभ लामाले खिचेको गीतको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका हुन् । काठमाडौंमा सेट लगाएर यो गीतको हालै छायांकन गरिएको हो । फिल्ममा पल र पूजा यो गीतमा मात्र देखिनेछन् ।
सौरभ लामाले खिचेको गीतको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका हुन् । कैलाश राई निर्देशित फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दालगायतको पनि अभिनय रहेको छ । चलचित्र ‘मनसँग मन’लाई सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्सनले निर्माण गरेको हो । यो चलचित्रको अधिकांश छायांकन दार्जिलिङ आसपासमा गरिएको छ ।