काठमाडौँ । पेट्रोलियम पदार्थको आयात घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले घटेको हो । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले पेट्रोलियम पदार्थको खपत कम हुँदा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले आयात घटेको हो । लकडाउनका कारण लामो समयसम्म सवारी साधान उद्योग व्यवसाय चल्न नसक्दा पेट्रोलियम पदार्थको खपत कम भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब ४५ अर्ब ९८ करोड रुपैयाँ बराबरको २५ लाख ९० हजार ६ सय ९३ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँ बराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर पेट्रोलियम पदार्थको आयात गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात ११ प्रतिशतले कम हो ।
वार्षिक रुपमा पेट्रोलियम पदार्थको खपत करिब १० प्रतिशतले बढ्ने गरेको भएता पनि यो वर्ष कोरोनाका कारण खपतमा कमी आएको निगमले जानकारी दिएको छ । कोभिड १९ संक्रमणका कारण लामो समयसम्म उद्योग व्यवसाय, सवारी साधान सञ्चालनमा नआउँदा पेट्रोलियम पदार्थको खपत विगतका वर्ष जस्तो हुन नसकेको निगमको भनाइ छ । निगमले करिब चार पाँच महिना खाना पकाउने एलपि ग्यास बाहेक पेट्रोल, डिजेल र हवाई इन्धनको करोबार ठप्प जस्तो नै भएको जानकारी दियो ।
कोभिड १९ का कारण बजारमा पेट्रोलियम पदार्थको खपत कम भएपनि निगमले अघिल्लो वर्षको भन्दा ४ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा पनि निगमले यो १२ अर्ब ८७ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष निगमले पेट्रोलियम पदार्थको कारोबारबाट ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । पेट्रोलियम पदार्थ आयात गरेर निगमले सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बुझाएको छ भने अघिल्लो वर्ष ६५ अर्ब ९३ करोड रुपैयाँ राजस्व बुझाएको थियो । निगमले अघिल्लो वर्षको भन्दासरकारलाई १ अर्ब ३५ करोड रुपैयाँ बढी राजश्व बुझाएको छ ।
कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै केही समय ठप्प हुँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु र पाइपलाइनबाट डिजेल ल्याउँदा ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याजबाट नाफा बढाएकाले निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको खपत कम हुँदा पनि नाफा कमाउन सफल भएको निगमको भनाइ छ ।
निगमको तथ्यांक अनुसार आर्थिक २०७६/०७७ मा पेट्रोल ५ लाख १३ हजार ९ सय ८४ किलो लिटर डिजेल १४ लाख ७३ हजार किलोलिटर र मटीतेल १८ हजार २ सय ७६ किलोलिटर आयात गरेको छ । हवाई इन्धन एक लाख ३६ हजार ४५६ किलोलिटर आयात गरेको छ । यसैगरी खाना पकाउने एलपी ग्यास ४ लाख ४८ हजार ५ सय ५० टन आयात गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ मा १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँ बराबरको २६ लाख ७० हजार ८ सय ८६ किलोलिटर आयात गरेको थियो । आर्थिक वर्ष २०७३/०७४ मा १ अर्ब ८ अर्ब ९८ करोड रुपैयाँ बराबरको २२ लाख ३३ हजार २ सय ६ किलोलिटर आयात गरेको थियो । आर्थिक २०७२/०७३ मा ५८ अर्ब ९४ करोड रुपैयाँ बराबरको १३ लाख ३९ हजार १ सय ३९ किलोलिटर इन्धन आयात गरेको थियो । आर्थिक २०७२/०७३ मा छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियमको आयातमा कम भएको निगमले जनाएको छ ।
निगमका अनुसार सामान्य अवस्थामा मासिक पेट्रोल ५५ हजार किलोलिटर र डिजेल एक लाख ५५ हजार किलोलिटर खपत हुन्छ । यसैगरी खाना पकाउने एलपीजी ग्यास मासिक ३० देखि ४० हजार टनसम्म खपत हुन्छ ।